बैशाख १७ बुटवल – नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज डा. बालकृष्ण चापागाईंले लोकतन्त्र जोगाउन गठबन्धनको जित आवश्यक रहेको बताएका छन् ।

शनिबार बुटवल– ४ का पाचँ दलीय गठबन्धनका युवाहरुको भेलालाई सम्बोधन गर्दै डा. चापागाईंले बैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन युवाहरुको प्रमुख जिम्मेवारी रहने बताए ।
उनले पाचँ दलीय गठबन्धनको पक्षमा जनलहर आएकोले गठबन्धनका साझा उम्मेदवारहरुको जित सुनिश्चित भएको बताए ।

त्यस्तैगरी होटल तथा रेष्टुरेण्ट व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष एवं नेकपा एसका लुम्बिनी प्रदेश कमिटी सदस्य हिराध्वज शाहले पाँच दलीय गठबन्धनको पक्षमा जनमत देखा परेकोले प्रतिद्वन्द्वीहरु अत्तालिएको बताए । नेपाली कांग्रेसका प्रतिनिधि अर्जुन रानाभाटले मुलुकको भविष्य निर्माणमा युवाहरुको ठूलो भूमिका हुने बताउँदै चुनावमा सक्रिय हुन युवाहरुलाई आग्रह गरे ।

पाँच दलीय गठबन्धनबाट बुटवल उपमहानगरपालिका वडा नं -४ का वडा अध्यक्षका उम्मेदवार नरिश्वर शर्मा पौडेलले स्थानीय जनताको स्नेह र सुझावबाट पार्टीले उच्च मूल्यांकन गरी आफूलाई उम्मेदवार बनाएकोमा आफ्नो पार्टी नेपाली कांग्रेस र गठबन्धन दलका सबै मित्रहरुप्रति आभार तथा धन्यवाद व्यक्त गरे ।

उनले वडावासीको अमूल्य मत गठबन्धनलाई प्राप्त हुनेमा आफू विस्वस्त रहेको बताउँदै बैशाख ३० गते निर्वाचन सम्पन्न भएपछि जनताका घरदैलो र टोलटोलमा पुगी स्थानीय जनताको सुझाव लिएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । चुनावी परिणाम पश्चात वडाको समृद्धि र विकासमा समर्पित रुपमा क्रियाशील रहने बताए ।

उक्त कार्यक्रममा बुटवल वडा नं. ४ का समाजसेवी एवं पाँच दलीय गठबन्धनका नेताहरु सर्वजित केसी, जित बहादुर भाट, बबर अली, हरि पहारी, अरुण कुमार श्रेष्ठ, चुन्नप्रसाद पौडेललगायतको सहभागिता रहेको थियो । कार्यक्रममा नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसलगायतका पाँच दलीय गठबन्धनका युवाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दल बुटवल– ४ का अध्यक्ष अशोक सेनको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन नेकपा एकीकृत समाजवादी बुटवल–४ का युवा नेता दिनेश मल्लले गरेका थिए ।

प्रकाशित मिति : २०७९ बैशाख १७ गते शनिवार