वैशाख १७, सल्यान – यतिबेला नेपालका हरेक ठाउँ जहाँजता पनि चुनावी चर्चाले माहोल तताएको छ । यो उखरमाउलो गर्मीको समेत कुनै प्रवाह नगरी उम्मेदवारहरु आ–आफ्ना एजेण्डा र योजनाका साथ जनताको घरदैलोमा पुग्ने क्रम जारी छ । यसै सन्दर्भमा सल्यान बागचौर नगरपालिकामा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टीका नेता कार्यकर्ता मात्रै होईन्, आम बागचौर बासीको मुखमा झुण्डिएको एउटा नाम बनेको छ ‘सुम्निमा’ !
सरल स्वभाबकी सुम्निमा डिसी वली अहिले बागचौर नगरपालिका हाँक्ने दौडमा रहनुभएको छ । माइतिघर बागचौर नगरपालिका वडा नं.२ र घरतर्फ बागचौर नगरपालिका ११,बाँफुखोला निवासी सुम्निमा यही आउँदो ३० गते हुने स्थानीय तहको निर्वाचनमा बागचौर नगरपालिकाको नगर उपप्रमुखको उम्मेदवार बनेकी छन ।
सबैले चर्चा गर्ने सुम्निमा माओवादी केन्द्र र एकिकृत समाजवादीको तर्फबाट साझा उम्मेदवारका रुपमा रहेकी छन । सुम्निमाको पार्टी भित्र मात्रै होईन्, महिला नेतृत्वको रुपमा नगरभरी नै उत्तिकै चर्चा छ । बागचौर निवासी अनिता शर्मा भन्नुहुन्छ,‘सुम्निमा माओवादी पार्टीको मात्रै होइन्,महिलाहरुको लागि बागचौरकै एक अभिभावक बन्नुभएको छ, सबैले रुचाइएकी महिला नेतृ बन्नुभएको छ ।’ बागचौर नगरपालिका–१२,निवासी रमेश वली भन्नुहुन्छ ‘उहाँ बाँफुखोलाको बुहारी मात्र नभएर समग्र बागचौरबाट धेरैले आशा भरोसा गरेको महिला नेतृका रुपमा पाउँदा खुशी लागेको छ ।’
सानै देखी सरल स्वभावकी सुम्निमा आफ्ना कुरा भने प्रष्ट राख्ने गर्छिन । २०५४ सालमा अखिल (क्रान्तिकारी) जनकल्यान मावि थारमारेको इकाई सदस्य, २०६० सालमा संगठनको केन्द्रीय सदस्य सम्मको जिम्मेवारी सुम्निमाले निभाइ सकेकी छन । २०५४ सालमा पार्टी कमिटी सदस्य भएकी सुम्निमा त्यसपश्चात एरिया कमिटी सदस्य,जिल्ला कमिटी सदस्य हुँदै २०६१ मा जिल्ला सचिवालय सदस्यका रुपमा पार्टीमा काम गरेको अनुभव उनीसँग छ । २०६५ मा मगराँत राज्य कमिटि सदस्य हुनुभएकी सुम्निमा डिसी (वली) हाल पार्टीको कर्णाली प्रदेश सदस्यको रुपमा पार्टी जिम्मेवारीमा रहेकी छन ।
निम्नबर्गीय परिवारमा बुवा चुडामणी डाँगी र आमा नन्दकला डाँगीको कोखबाट २०३७ पुस १७ गते दुई दाई र एक दिदी पछि कान्छी छोरीको रुपमा सल्यान बागचौरमा जन्मीएकी हुन सुम्निमा डिसी (वली) ।
२०६४ देखी पार्टी निकट अखिल नेपाल महिलासँग (क्रान्तिकारी)को जिल्ला अध्यक्ष भएकी डिसी त्यसपछि महिला संगठनको केन्द्रीय सदस्य हुँदै हाल केन्द्रीय सचिवालय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज हुन ।
महिलाहरुलाई प्राबिधिक शिक्षामा जोडेर स्वरोजगार बनाउने आफ्नो योजना रहेको भन्दै सुम्निमाले यसलाई आफूले प्राथमिकताका साथ राखेर आगामी दिनमा काम गर्ने बताईन । बागचौर नगरलाई ‘सम्बृद्ध र सुन्दर’ बनाउने दौडमा आफु रहेको बताउने सुम्निमा विकट वडाका रुपमा परिचित बाँफुखोलालाई सुगम बाँफुखोला बनाउने, विभिन्न अभाबमा गुज्रिएका अन्य वडालाई समृद्ध बागचौर नगरसँग जोड्ने आफ्नो पहिलो योजना रहेको बताईन ।
बागचौर नगरलाई आत्मनिर्भर नगरपालिका बनाउनका लागि स्थानिय उत्पादनको बजारीकरण गर्ने, निःशूल्क शिक्षा र स्वास्थ्य,गरिव परिवार र असहायलाई घरमै गएर निशुल्क उपचार गर्ने, नगरसँग जोडीएका हरेक वडा सडक कालोपत्रे गरेर धुलो रहित सडक र स्वच्छ वातावरण बनाउने मुख्य एजेण्डा लिएर अहिले सुम्निमा बागचौरका १२ वटै वडाका जनतामाझ पुगेकी छन ।
बागचौरका बास्तविक किसान पहिचान गरेर हरेकलाई प्रोत्साहन गर्ने, कृषि क्षेत्रका अनेक समस्यालाई समाधान गरी किसान सुहाउदो कृषि निति बनाएर समग्र बागचौरका किसानको आयको माध्यम बृद्धि गर्ने आफ्नो योजना रहेको उनले बताईन ।
बागचौरका हरेक समस्यासँग आफु परिचित भएकोले पनि समाधान गर्न नगरपालिकामा आफ्नो नेतृत्व अहिले आबश्यक ठानेर र यसअघि देखि आम बागचौर बासीको मागले गर्दा आफू यसपटक चुनाबी मैदानमा होमिएको सुम्निमाको भनाई छ । ‘बागचौर नगरलाई जनताले सम्बृद्ध र सुन्दर भएको हेर्ने चाहाना उनको छ ’,सुम्निमाले भनिन,‘बागचौरमा रहेका आम नगरबासीको यो चाहाना पूरा गर्न सक्ने महिला नेतृत्वका रुपमा जनताले मेरै माग गरेकाले म यसपटक चुनाबी मैदानमा होमिएको हुँ ।’
बागचौर बासी सम्पूर्ण आमा बुबा दाजुभाई सबैका हितकारी एजेण्डाहरु जनतामाझ लिएर गएकाले पनि आफ्नो जित्ने आधार रहेको उहाँको दाबी छ । अर्को जित्ने आधार भनेको यसअघिको स्थानिय तहको निर्वाचनमा बागचौर नगर माओवादीको किल्ला बनेर उभिएको थियो । यसअघि नगरका १२ वडा मध्ये ८ वटा वडामा माओवादी बलियो रुपमा विजयी बनेको र अन्य ४ वडामा समेत अहिले माओवादीको उपस्थिति शसक्त रहेकाले आफुलाई जित निकाल्न सजिलो हुने सुम्निमाको दाबी छ ।
देश अहिले माओवादीकै नीतिमा चलिरहेको,माओवादीले नै महिलालाई नेतृत्वमा जानुपर्छ भनेर अघि सारेको,युवा,दलित,जनजाति सबैको उत्थानमा माओवादी नै सहि हो भन्ने मान्यता रहेकाले समेत आफ्नो जित्ने आधार थप बलियो बनेर गएको सुम्निमाको जिकिर छ ।
उनले गरेको जिकिर अनुसार आबद्ध पार्टी र स्वयम् उनको लागि साँच्चिकै फलदायी हुन्छ या हुँदैन त्यो भने वैशाख ३० नकुरी सुखै छैन ।