बैशाख १६ काठमाडौ – स्थानीय तह निर्वाचनको लागि नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार विरुद्ध बागी अर्थात विद्रोही उम्मेदवार दिनेहरुलाई कांग्रेसले उम्मेदवारी फिर्ता लिन र पार्टीलाई सघाउन चेतावनी सहित निर्देशन दिएकाे छ।

शुक्रबार बिहान एक विज्ञप्ति सार्वजनिक गर्दै कांग्रेसले निर्वाचन आयोगद्वारा तोकिएको मिति र समय (आज वैशाख १६ गते शुक्रबार विहान १० (दश) बजेदेखि ५ (पाँच) बजेसम्म) उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएकाे छ।

त्यस्ता उम्मेदवारले तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, उनको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्काशित गरिने चेतावनी दिएकाे छ।

गठबन्धन भएका कतिपय जिल्लामा कांग्रेसभित्र असन्तुष्ट पक्षले बागी उम्मेदवार दिएका छन भने गठबन्धन नभएका जिल्लाहरुमा उम्मेदवार छनाेटमा असन्तुष्ट जनाउदै स्वतन्त्र उम्मेदवारी दिएकाे अवस्थामा कांग्रेसले अन्तिम विकल्पमा चेतावनी दिएकाे हाे।

प्रकाशित मिति : २०७९ बैशाख १६ गते शुक्रवार