चैत ३० काठमाडौ – सत्तारुढ नेकपा माओवादी केन्द्रले बुधबार बिहानै सार्वजनिक गरेकाे चुनावी प्रचार लक्षित तस्बिर विवादमा परेकाे छ।
उक्त तस्बिरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´, नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकाे संयुक्त तस्बिर समावेश भएपछि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङकाे फाेटाेबारे सामाजिक संजाल विराेध संगै माओवादी केन्द्रकाे आलोचना भइरहेको छ।
उक्त तस्बिर माओवादी अध्यक्ष ‘प्रचण्ड’, नेता वर्षमान पुनकाे आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको छ। ‘अध्याँरोबाट उज्यालोकाे यात्रा’ लेखिएको छ।
माओवादी नेता शर्मा तत्कालीन ऊर्जामन्त्री र घिसिङ प्राधिकरणका कार्यकारी निर्देशक भएकाे समयमा लोडसेडिङ अन्त्य भएको घाेषणा गरिएको थियाे। त्यहि सफलताकाे नमुना जाेडेर चुनावी प्रचार सामाग्री बनाउदा निर्वाचन आचारसंहिता समेत उलंघन हुने तर्फ ध्यान नदिएर माओवादी केन्द्रले साे सामाग्री तयार गरेकाे छ। निर्वाचन आचारसंहिता २०७८ मा सरकारी कर्मचारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा कसैलाई प्रयाेग गर्न निषेध गरेकाे छ।
एक कार्यकाल सकिएपछि घिसिङ पदमुक्त भएका थिए। त्यसपछि पाँच दलीय गठबन्धन सरकार निर्माण पछि घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गरेको हाे।