चैत २६ काठमाडौ – अखिल नेपाल ट्रेड युनियन महासंघको आयोजनामा राजधानी काठमाडौंमा विशाल र्यालीको आयोजना गरिएको छ ।

अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा नेकपा माओवादी केन्द्रको भातृ संगठन ट्रेड युनियन महासंघले दरबारमार्गदेखि शहीदगेटसम्म प्रभातफेरी सहित र्यालीको आयोजना गरेको हो । माओवादी केन्द्रलाई विजय गराऔं भन्ने नारा लेखिएको गोलाकारभित्रको हाँसिया हतौडा अंकित चुनाव चिन्ह भएको टिसर्ट सहितका माओवादी कार्यकर्ताहरुको र्याली शहीदगेटमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै माओवादी केन्द्र उपत्यका विशेष प्रदेश समिति अध्यक्ष समेत रहेका मजदुर संगठनका अध्यक्ष तथा बागमती प्रदेश सांसद जगत सिंखडाले शान्ति र विकासको लागि माओवादी केन्द्रलाई जिताउन आवश्यक भएको बताए । मजदुरको पक्षमा संघर्ष गर्ने पार्टी माओवादी केन्द्र मात्रै भएको भन्दै माओवादीकै एजेण्डामा देश अगाडि बढिरहेकाले जसको नीति र एजेण्डा छ उसैको नेतृत्व हुनुपर्नेमा जाेड दिदै सरकारले गरेको उपभोग्य पदार्थको मुल्य वृृद्धि तत्काल फिर्ता गर्न तथा मजदुरको तलब बढाउन माग गर्दै सिंखडा भन्छन; “मजदुर र श्रमिक जनताको ढाड सेक्ने गरी भएको मुल्य वृद्धि तत्काल फिर्ता नगरे हामी कडा संघर्ष गर्न बाध्य हुन्छौं।”

माओवादीलाई जिताउन लाखौं मजदुरहरु जस्तोसुकै त्याग गर्न पनि तयार रहेको सन्देश आजको र्यालीले दिएको समेत बताए।

प्रकाशित मिति : २०७८ चैत्र २६ गते शनिवार