चैत २४, सल्यान – बागचौर नगरपालिका वडा नं. ८ को खत्रीगाउँमा शारदा खोला खत्रीगाउँ लिफ्टखानेपानी उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
उक्त लिफ्टखानेपानीको उद्घाटन गर्दै बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले आफ्नो कार्यकालको अवधिमा यो एउटा गौरवशाली आयोजना सम्पन्न गरेको बताए ।
उनले स्थानीय तहको निर्वाचन हुनु अगावै यो ठाउँमा आउँदा खत्रीगाउँबासीहरु खानेपानीको चरम समस्या भएको देख्दा आफुले निर्वाचित भएर आएपछि खानेपानी ल्याउने प्रतिवद्वता गरेको र त्यो पूरा गरेको उनको भनाइ छ । बुढाथोकीले बागचौर नगरपालिकाको १२ वटै वडामा समानुपातिक हिसाबले विकास योजनाका कामहरु गरेको बताउँदै बाँकी रहेका अधुरा कामहरुलाई क्रमागत रुपमा विकास गर्ने कुरामा सदैव लाग्ने जानकारी गराए । उनले अब आफ्नो कार्यकाल अन्तिम अवस्थामा आएको जानकारी दिदै जनताहरु रुचाउनु भयो भने फेरि पनि दोहोरीएर आउने र बाँकी कामहरु सम्पन्न गर्नतिर कटिबद्ध भएर लाग्ने बताए ।
बागचौर नगरपालिकाको आ.व.२०७७/०७८ बाट विनियोजित २५ लाख बजेट र आ.व.२०७८/०७९ मा विनियोजित ११ लाख ५० हजार बजेटबाट निर्मित लिफ्ट खानेपानीबाट खत्रीगाउँका ७५ घरधुरी लाभान्वित हुने शारदा खोला खत्रीगाउँ लिफ्ट खानेपानी योजनाका अध्यक्ष नवराज के.सी.ले जानकारी दिएका छन ।
कार्यक्रम वडा नं. ९ का वडाध्यक्ष रोमु शाही, वडा सदस्य कल्पना शर्मा, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय सल्यानका सदस्य कविराम बस्नेत, नेपाली काङ्ग्रेस जिल्ला कमिटी सदस्य ईश्वरी केसी, नेकपा माओवादी केन्द्र बागचौर नगर कमिटी सदस्य तोकलाल शर्मा लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको सहजीकरण कालिका मावि कोटमौलाका प्र.अ. खुमराज केसीले गरेका थिए ।