चैत २४, सल्यान – जिल्लाको बागचौर नगरपालिकामा रहेको थारमारे फ्यूज सेवा, बागचौरमा बिहीबार देखि दैनिक रुपमा सेवा दिईने गरि विद्युत महसुल काउन्टरको शुभारम्भ भएको छ ।

जसको उद्घाटन गर्दै बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले जनताको सेवा लागि यो एकदमै ऐतिहासिक कार्य भएको बताए । सार्वजनिक विदा बाहेक दैनिक रुपमा सेवा संचालन गरि ग्राहकहरुलाई छिटो एवम् सहज स्वा प्रवाहका लागि दैनिकी सेवा दिएकोमा वितरण केन्द्रलाई आभार प्रकट गरे ।

उनले कुनै पनि चिजको बनाईसके पछि संरक्षण र सम्वर्द्वन गर्नमा आफुहरुको कर्तव्य भएको बताउँदै यसको लागि आफुहरु निरन्तर लाग्ने बताए । विद्युत एउटा समवेदनशील चिज भएकोले यसको प्रयोगमा पनि विशेष ध्यान दिने कुरामा ग्राहकले ख्याल गर्नु पर्ने उनको भनाइ छ ।

मेयर बुढाथोकीले बागचौर नगरपालिकाको १२ वटैमा बत्ती बालिसकेको र मिटर बक्स नआउनु कारण टोलहरुमा बत्ती बाल्न नसकेको गुनासो गरे । यसका निम्ति सम्बन्धित निकायलाई जिम्मा नदिई संघले नै यसको कार्यान्वय गर्ने भएकाले समस्या आएको बताउँदै यश विषयमा आफुले संघसम्म जोड दिने बताए  ।

उनले विद्युत महसुल काउन्टरको उद्घाटन मात्रै नभई सेवा प्रवाहमा वितरण केन्द्रले जनताका निम्ति कत्ति पनि कन्जुस्याइँ नगरि सेवा प्रवाह गर्ने कुरामा विश्वस्त भएको बताए ।

यस्तै कार्यक्रमका सभाध्यक्ष केन्द्र प्रमुख अशोक लोहनीले शहरी भेगमा विभिन्न ईन्टरनेट प्रयोग गरेर अनलाइन मार्फत नै घरमै बसी महसुल तिर्न सकिने भएता पनि ग्रामीण भेगमा सबैले यसको प्रयोग गर्न नजान्ने समस्या हुने भएकाले महसुल बुझाउन खलंगासम्म जाने बाध्यता हटाउन नियमित रुपमा कर्मचारी खटाएर भएनि यश वितरण केन्द्रबाट सेवा प्रवाह गर्ने बताए । उनले कर्मचारी कम र कार्यक्षेत्र धेरै भएकोले चुनौती भएको बताउँदै तर पनि जनताको सेवाका लागि निरन्तर लाग्ने जानकारी दिए । लोहनीले थारमारे फ्यूज सेवा, बागचौरबाट दार्मा, कुमाख गाउँपालिका र बागचौर नगरपालिकाका करिब ५००० जना ग्राहकहरुले दैनिकी सेवा लिन सक्ने बताउँदै  आगामी दिनमा सकेसम्म मिटर बक्सको पनि यहिबाट वितरण गर्ने गरि लागि पर्ने बताए ।

कार्यक्रममा अतिथिहरु २ नं. वडाका कार्यबाहक वडाध्यक्ष टोप बहादुर डाँगी, पत्रकार लगायत थारमारे वितरण केन्द्रका सम्पुर्ण कर्मचारी र ग्राहकहरुको उपस्थित रहेको थियो ।

थारमारे फ्यूज सेवा, बागचौरका सुपरभाइजर मदन भण्डारीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण कर्मचारी होमनाथ पोख्रेल गरेका थिए ।

 

प्रकाशित मिति : २०७८ चैत्र २४ गते बिहिवार