चैत ८ काठमाडौं – नेकपा एमालेकाे प्रथम पुर्ण पोलिटब्यूरो बैठकबाट स्थानीय तह निर्वाचनका उम्मेदवारको मापदण्ड परिमार्जन गरेकाे छ।

स्थानीय तह निर्वाचनमा उम्मेदवार सिफारिस र निर्णयसम्बन्धी विधि र मापदण्डका बारेमा आएका सल्लाह र सुझाव अनुसार केही परिमार्जन सहित हेरफेर गर्ने निर्णय भएको एमालेले जनाएको छ।

यसअघि सचिवालयकाे बैठक मार्फत वडाध्यक्ष र सदस्यको लागि पालिका कमिटीकाे सिफारिसमा जिल्ला कमिटीले अन्तिम निर्णय गर्ने गरेकाेमा अब परिमार्जित मापदण्डअनुसार वडाध्यक्ष र सदस्यका उम्मेदवारको सिफारिस वडा कमिटीकाे सिफारिसमा पालिका कमिटी मार्फत जिल्ला कमिटीले अन्तिम निर्णय गर्ने छ।

पालिकाका प्रमुख र उपप्रमुखकाे हकमा उम्मेदवारको सिफारिस सम्बन्धित पालिका कमिटीकाे सिफारिसमा जिल्ला कमिटीले गर्ने र त्यसलाई अन्तिम रुप भने प्रदेश कमिटीले दिने छ। महानगरपालिका र उपमहानगरपालिकका प्रमुख र उपप्रमुखकाे उम्मेदवारीकाे लागि प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले अन्तिम निर्णय गर्ने बैठकपछि केन्द्रीय प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा साेमबार कार्की बैंक्वेट थापाथलीमा बैठक सम्पन्न भएको हाे। बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीको सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्नुपर्ने भएकाले कथित गठबन्धनकाे भ्रमहरु चिर्दै निर्वाचन तिर ध्यानाकर्षण गर्न निर्देशन समेत दिएका थिए।

प्रकाशित मिति : २०७८ चैत्र ८ गते मङ्गलवार