माघ १२ काठमाडौ – राष्ट्रिय सभा निर्वाचन सुरु भएकाे केही समयमै दुईवटा प्रदेशमा झडप भएको छ।
मधेश प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि मतदान भइरहेको स्थल नजिकै सीके रावत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले किसान आन्दोलन भन्दै प्रदर्शन गर्दै जनकपुरधाममा रहेकाे मतदान स्थलतर्फ अघि बढेको जुलुसलाई प्रहरीले रोक्न खोज्दा जनकपुरको तिरहुतिया गाछीमा प्रहरी र प्रदर्शनकारी बिच झडप भएको मधेस प्रहरी कार्यालय जनकपुरले जनाएको छ।
मतदान स्थलमा विभिन्न नारा सहित प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार समेत प्रहार गर्नुपरेकाे र अहिले झडप नियन्त्रण भइसकेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी उपरीक्षक प्रहरी नायव महानिरीक्षक उमेश रंजितकारले बताए।
त्यसैगरी उता बागमती प्रदेशमा पनि मतदानस्थलमा प्रदेश सांसदले नै निर्वाचन अधिकृतमाथि हातपात गरेका छन। गोप्य मतदान केन्द्रमा माओवादी केन्द्र तर्फकी सांसद हिमाली गोलेले फोटो खिच्न खाेच्दा निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले फाेटाे खिच्न निषेध भएकाे भन्दै मोबाइल खोसेको पछि माओवादी सांसद राजकाजी श्रेष्ठले निर्वाचन अधिकृत श्रेष्ठकाे माथि हातपात गरेका हुन।
अहिले उक्त मतदान स्थल तनावग्रस्त रहेकाले मतदान कार्य राेकिएकाे र थप सुरक्षा टाेली माग गरि नियन्त्रणमा लिने प्रयास भइरहेकाे बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी वरिष्ठ उपरीक्षक धुर्वराज राउतले बताए।