पुस ३० काठमाडौ – भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले केही दिन अघि एक कार्यक्रममा लिपुलेकमा भारत सरकारले सडक निर्माण गरिरहेकाे भन्ने अभिव्यक्ति प्रति सत्तारुढ दल नेपाली कांग्रेसले ध्यानाकर्षण भएकाे बताएको छ।
नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गर्नू आपत्तिजनक भएको बताउदै कांग्रेस महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले शुक्रबार साँझ कांग्रेसको धारणा सार्वजनिक गर्दै लिपुलेकमा भारतले सडक निर्माण गरेकोमा आपत्ति प्रकट गरेका हुन् । भारतले नेपालको लिपुलेक क्षेत्रमा गरेको सडक निर्माण आपत्तिजनक छ र अविलम्ब रोक्नुपर्छ। कांग्रेसको धारणा स्पष्ट छ। सीमासम्बन्धी प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा कुटनीतिक संवाद मार्फत गर्दै नेपाल सरकारले तत्काल लिपुलेक,लिम्पियाधुरा र कालापानीमा आफ्नो भोगाधिकार स्थापित गर्न पहलकदमी लिनुपर्ने महामन्त्री द्वय थापा र शर्माद्वारा हस्ताक्षर सार्वजनिक धारणामा उल्लेख छ।
कांग्रेसले लिपुलेकमा भारतले गरिरहेको सडक निर्माण गम्भीर भएको भन्दै निर्माण कार्य रोक्न माग गरेको छ । कांग्रेसले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएको भन्दै सो भूमि नेपालले उपभोग गर्न पाउनुपर्ने बताएको छ । यस्तै कालापानीबाट भारतीय सेना हट्नुपर्ने भन्दै कांग्रेसले सुगौली सन्धि दुबै देशले स्वीकारेको भन्दै सोही तथ्यमा सीमा विवाद समाधान हुनुपर्ने बताइएको छ ।