पुस २३, सल्यान – नेकपा एमाले सल्यानको ९ औं जिल्ला अधिवेशनको उद्घाटन समारोह शुक्रबार अर्थात् आज सल्यान खलंगाको टुडिखेलमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका पोलिटब्यूरो सदस्य गुलावजंग शाहले ठुलो दलका आधारमा प्रधानमन्त्री केपी शर्मा ओली नै हुनु पर्ने बताएका छन । तर सर्वोच्चले शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाए पनि अहिलेको सरकार जनताको सरकार नभएर प्रमादेशको सरकार भएको उनले बताएका छन ।

उनले माओवादीमा कुनै विधि र विधान नभएको भन्दै माओवादीले एउटै व्यक्तिलाई पनि ३४ वर्षसम्म पनि पार्टी अध्यक्ष बनाउने गर्छन भने यो कस्तो पार्टी रहला भन्दै टिप्पणी समेत गरेका छन । उनले माओवादीले एमालेसँग एकता नगरेको भए अहिले माओवादी खोज्नुपर्ने अवस्था समेत आउने कुुरा बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रदेश कमिटी सदस्य लोक बहादुर डाँगीले केपी ओली नभएको भए देशमा आज एमाले कार्यकर्ता प्रचण्डका दास बन्नुपर्ने अवस्था सृजना हुनेसम्मको अवस्था भएको बताए । एमाले केपी ओलीले जोगाएको बताउँदै उनले अझै देशका लागि केपी ओली आवश्यक भएको बताएका छन ।

नेकपा एमाले जिल्ला अध्यक्ष गोविन्द पुनको अध्यक्षता र उपाध्यक्ष भीम बहादुर सेनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रदेश कमिटी सदस्यहरु, तिलक मल्ल, मनाेज प्रधान लगायतले आफ्ना भनाइहरु राखेका थिए भने उक्त कार्यक्रम सहजीकरण उप-सचिव दान बहादुर के.सी.ले गरेका थिए । आज उद्घाटन भएकाे अधिवेशनको भोलि अर्थात् शनिबार बन्दसत्र हुने नेकपा एमाले सल्यानका जिल्ला कमिटी सदस्य एवम् प्रचार प्रसार संयोजक दिपेन्द्र प्रकाश डि.सी.ले जानकारी दिएका छन ।

प्रकाशित मिति : २०७८ पुष २३ गते शुक्रवार