मंसिर २९, सुर्खेत – नेकपा (माओवादी केन्द्र) को प्रथम कर्णाली प्रदेश सम्मेलनमा प्रदेश सदस्यहरुबाट नै कर्णाली प्रदेश अध्यक्ष सहितका पदाधिकारी चुन्ने मापदण्ड निर्माण भएको छ ।
माओवादी केन्द्र कर्णाली प्रदेशको यही मंसिर २५ गतेदेखि शुरु भएको प्रथम कर्णाली प्रदेश सम्मेलनबाट केन्द्रीय सदस्यहरुबीच प्रदेश अध्यक्षमा सहमति जुट्न नसकेपछि अब प्रदेश समिति सदस्यहरुबाट अध्यक्षसहितका पदाधिकारी चुन्ने विधि तय गरेको हो ।
उक्त सम्मेलनको बन्द सत्रका अध्यक्ष मण्डलका अध्यक्ष रामदीप आचार्यले प्रदेश अध्यक्ष हुन प्रदेश सदस्यबाट चयन गर्ने व्यवस्था गरिएको जानकारी दिएका छन ।
प्रदेश समितिमा देखिएको असन्तुलनलाई सन्तुलित गर्ने ध्येयले १० प्रतिशत मनोनित गर्ने व्यवस्था गरिएको छ । उनले दशवटै जिल्लाबाट छानिएका प्रदेश समिति सदस्यहरुको प्यानल प्रस्ताव बन्द सत्रमा हिजो सार्वजनिक गरेका थिए । अध्यक्ष आचार्यका अनुसार रुकुम पश्चिमबाट ३२, सल्यानबाट २९, कालीकोटबाट २९, जाजरकोटबाट २६, सुर्खेतबाट २१, जुम्लाबाट १८, हुम्लाबाट १८, दैलेखबाट १७, डोल्पाबाट ११, र मुगुबाट १० गरी २११ जना प्रदेश सदस्यमा चयन भएको बताएका छन् ।
उनकाअनुसार १० वटै जिल्लाबाट सर्वसम्मत निर्वाचित प्रदेश सदस्यहरुबाट अध्यक्षसहितका पदाधिकारी चयन गरिने भएको छ । माओवादी केन्द्रले प्रदेश समितिमा महिला ३५, दलित २५, युवा २० र अल्पसंख्यक पाँच प्रतिशत समेट्ने गरी विधान निर्माण गरेको जनाएको छ ।