मंसिर २० काठमाडौ – नेपाली कांग्रेसको प्रदेश महाधिवेशन अन्तर्गत ६ वटै प्रदेशको अन्तिम नतिजा सार्वजनिक भएको छ।

पछिल्लो समय लुम्बिनी प्रदेशको मत परिणाम सार्वजनिक भएसँगै ४ वटा प्रदेशमा देउवा र दुई प्रदेशमा पौडेल पक्षका उम्मेदवार सभापतिमा निर्वाचित भएका छन् ।

लुम्बिनी प्रदेशमा पौडेल पक्षका अमरसिंह पुनले देउवा पक्षका भरतकुमार शाहलाई पराजित गरे। पुनले ८ सय ५२ मतसहित सभापतिमा निर्वाचित हुँदा शाहले ७ सय ६७ मत ल्याए।

यस्तै प्रदेश १ को सभापतिमा देउवा तर्फका उद्धव थापा विजयी भएका छन्। पौडेल पक्षका गुरुराज घिमिरेलाई २ मतले पराजित गर्दै थापा सभापतिमा निर्वाचित भएका हुन्।  थापाले ८ सय ४४ र घिमिरेले ८ सय ४२ मत प्राप्त गरे। यो प्रदेशमा नेता कृष्ण सिटौला निकटले पनि थापालाई सभापति सहयोग गरेका थिए। उता पराजित भएका घिमिरेले पुनः मतगणनाकाे माग गरेका छन। बागमती प्रदेशमा दुईपटक मतदान भएकोमा सभापतिमा देउवा पक्षका इन्द्र बानियाँ विजय भएका छन्। पौडेल पक्षका जगदीश्वर नरसिंह केसीलाई १ सय ५८ मतले पराजित गर्दै बानियाँ विजयी भएका हुन। पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत बढी मत पाउन नसेकेपछि दोस्रो चरणमा भएको मतदानमा बानियाँले १ हजार ८५ र केसीले ९ सय २७ मत प्राप्त गरे।  पहिलो चरणमा तेस्रो भएका सिटौला समूहका भीमसेनदास प्रधानले दोस्रो चरणमा बानियाँलाई समर्थन गरेका हुन।

गण्डकी प्रदेशमा पौडेल निकट शुक्रराज शर्मा विजयी भएका छन। कर्णाली प्रदेशमा तीन पक्षीय समुह चुनावमा थियाे। ललितजंगले ४ सय २२ मत, भूपेन्द्र शाहीले ३ सय ७१ मत र माेतीराज बमले जम्मा ७ मत ल्याएका हुन। सुदूरपश्चिम प्रदेशमा देउवा समूहका वीरबहादुर बलायर विजयी भएका हुन।प्रतिद्धन्द्धी नारायणदत्त मिश्रलाई फराकिलो मत अन्तरले पराजित गरेका हुन। बलायरले ६ सय ८८ मत ल्याउँदा प्रतिद्वन्द्वी मिश्रले दुई सय ८० मत प्राप्त गरे ।

प्रदेश २ मा भने क्षेत्रीय प्रतिनिधि चयनको विषयलाई लिएर केही जिल्लामा विवाद जारी रहँदा प्रदेश अधिवेशन उद्घाटन मात्र गरेर स्थगित गरिएकाे छ। त्यहाँको अधिवेशन केन्द्रीय अधिवेशन सकिएपछि मात्रै गर्ने नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन समितिले जनाएको छ।

प्रकाशित मिति : २०७८ मङ्सिर २० गते सोमवार