कार्तिक १६, सल्यान – “पुरातात्त्विक संरचनाको खोजी र साहित्यक सिर्जना, अग्रज स्रष्टाको सम्मान र अनुजको जगेर्ना” भन्ने मुल नारा सहित राप्ती साहित्य परिषद सल्यानको सल्यान साहित्य महोत्सव बागचौर नगरपालिकाको आर्थिक सहयोगमा आज देखि थारमारेमा सुरु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले साहित्यक कार्यक्रम भनेको हरेक दुख, पीडा भुलाउने थलो भएकोले यस्ता किसिमका कार्यक्रममा आफ्नो खुब रुची भएको बताएका छन । यस्ता किसिमका साहित्यक कार्यक्रममा विगत ४ वर्ष देखि निरन्तर लाग्दै आएको र आझै पनि यस्ता साहित्यक कार्यक्रम सरकार बाहिर गए पनि आफु एक्लैले भए पनि सहयोग गर्ने प्रतिवद्वता समेत गरेका छन ।

परिषदका उपाध्यक्ष इन्द्र भण्डारी अंकितको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विशिष्ट अतिथि दार्मा गाउँपालिका अध्यक्ष निम के.सी., बागचौर नगर उप-प्रमुख कल्पना पुन, राप्ती साहित्य परिषद केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनाल, अतिथिहरु ने.क.पा. माओवादी केन्द्रका बागचौर संयोजक टिकाराम वली, बागचौर नगरपालिका कार्यपालिका सदस्य जनक घर्ती, वडा नं.१२ का वडाध्यक्ष दिपक वली लगायत जनप्रतिनिधि, राजनीतिकर्मी पत्रकार, साहित्यक स्रष्टाहरु, साहित्य अनुरागीहरुको उपस्थिति रहेकाे थियाे भने कार्यक्रमको सहजीकरण परिषदका सचिव तारादेव शर्मा प्रदर्शनले गरेका थिए ।

उक्त कार्यक्रममा सल्यानमा जन्मिएर विभिन्न ठाउँमा कर्मथलो बनाई सिङ्गो साहित्यलाई माथि उठाउन विभिन्न तवरले सहयोग पुर्याउने स्रष्टाहरु डा.अमर शाह, उषा हमाल, एकराज भण्डारी, कमलमणी देवकोटा, केशवराज देवकोटा, डा. कष्णराज डि.सी. लगायतका २८ जना अग्रज स्रष्टाहरुलाई सम्मान गरिएको थियो ।

सम्मानित श्रष्टाहरु

सल्यान साहित्य महोत्सव २०७८ कार्तिक १७ अर्थात् भोलि कवि उषा हमाल, डा.कृष्णराज डि.सी., रमेश क्षितिज, दिपक शर्मा समीर, सुदेश सत्याल, रिमा के.सी. यस्तै गजलकार प्रदिप रोदन, भावना लामिछाने, प्रमोद थापा, इन्दिरा अधिकारी साथै मुक्तककार सन्तोष अम्गाई र महावीर बिस्वकर्माको प्रस्तुत रहने आयोजक टिमले जानकारी दिएकाे छ ।

प्रकाशित मिति : २०७८ कार्तिक १६ गते मङ्गलवार