कात्तिक १५ सुर्खेत –  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका छन्। ​

गत वैशाख ३ मा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिदा विशेष सहमतिका आधारमा कांग्रेस र नेकपा एमाले माधवकुमार नेपाल पक्षका चार जना सांसदले पार्टीको ह्वीप उलंघन गर्दै शाहीलाई विश्वासको मत दिएका थिए। साेहि समयमा भएकाे सहमति अनुसार शाहीले राजिनामा दिनु परेकाे हाे। प्रदेश वासीकाे नाममा सम्बोधन गर्दै शाहीले मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका छन। संबाेधनका क्रममा शाहीले सरकारले गरेका कामकाे समग्र विवरण प्रस्तुत समेत गरेका थिए।

कांग्रेस माओवादीबीच पहिलो ६ महिना शाही र बाँकी समय कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने समझदारी बनेको थियो। उनले नयाँ सरकारलाई आफ्नो र पार्टीको पूर्ण समर्थन रहेको बताए।

मुख्यमन्त्रीमा काँग्रेसका जीवन बहादुर शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएपछि नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्य मन्त्री बन्ने भएका छन्।

मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको कांग्रेसले तत्काल सरकारमा जान नमाने अवस्थामा माओवादीले कांग्रेससँग ११ बुँदे सहमति गरेपछि कांग्रेसले दुई सांसद यज्ञबहादुर बुढाक्षेत्रीलाई सामाजिक विकास र दिनबन्दु श्रेष्ठलाई जलस्रोत तथा उर्जा तथा मन्त्रीको लागि सिफारिस गरेको थियो।

कांग्रेसलाई ६ महिनापछि शाहीले मुख्यमन्त्रीको कुर्सी छोड्ने र कांग्रेसका संसदीय दलका नेता शाहीलाई मुख्यमन्त्री बनाउने आन्तरिक सहमति गरे बमोजिम अहिले काँग्रेस नेता शाहीलाई मुख्यमन्त्रीकाे ढाेका खुलेकाे हाे।

हुम्लाको खार्पुनाथ गाउँपालिका–५ अन्तरर्गत खर्पेलगाउँमा उनकाे स्थायी ठेगाना हाे। शाहीले राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन्।

प्रकाशित मिति : २०७८ कार्तिक १५ गते सोमवार