तीन दशक कांग्रेसमा बिताएका तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा समाजसेवी बिमल रिजाल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन।
पार्टी सभापति रवि लामिछानेले आइतबार रिजाललाई पार्टीको ब्याज लगाएर स्वागत गरेका हुन। पार्टी प्रवेश कार्यक्रममा रास्वपाका केन्द्रीय महामन्त्री कबिन्द्र बुर्लाकोटी, दाङ क्षेत्र नं. ३ का सांसद कमल सुबेदी, रास्वपा दाङ जिल्ला उपाध्यक्ष अर्जुन के.सी. तथा क्षेत्र नं. ३ का संयोजक बलिराम खत्री लगायतको उपस्थिति रहेको थियो।
रिजालले तीन दशक लामो नेपाली कांग्रेस सँगको राजनीतिक यात्रा अन्त्य गर्दै व्यक्तिगत व्यवसायीक कारण देखाउदै नेपाली कांग्रेस क्षेत्र नम्वर -३ का सभापतिलाई सम्वोधन गरी बैशाख १६ गते लेखेको पत्रमा पाटीको क्रियाशिल सदस्यता नरहने गरी अलग भएको उल्लेख गरेका छन।
काँग्रेसको १४ औ महाधिवेशनमा दाङ -३ बाट सर्बाधिक मत प्राप्त गरि महाधिबेसन प्रतिनिधिमा विजयी भएका रिजाल कांग्रेसबाट तुलसीपुरको मेयरको आकाङ्क्षीका रुपमा समेत हेरिएको थियाे। उनकाे पार्टी परित्यागले दाङ कांग्रेसमा नै नयाँ तरंग पैदा भएको छ।