पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा विरुद्ध ‘रेड नोटिस’ जारी गराउन नेपाल प्रहरीले फेरि इन्टरपोलको ढोका ढकढक्याएको छ ।
यसअघि पठाइएको अनुरोधमा इन्टरपोलले तत्कालीन यथास्थितिकाे अवस्था अनुसार महासचिवालयले थप प्रमाण, विवरण र कानुनी आधार मागेपछि प्रक्रिया रोकिएको थियो । त्यसपछि नेपाल प्रहरीले आवश्यक कागजात, स्पष्टीकरण र सोधिएका प्रश्नहरूको जवाफ तयार पारेर बिहीबार पुनः इन्टरपोलमा पठाएको प्रहरी स्रोतले जनाएको छ ।
काठमाडौंस्थित इन्टरपोलको नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) मार्फत गरिएको पत्राचारपछि अब महासचिवालयले नयाँ निर्णय गर्ने अपेक्षा गरिएको छ ।
उच्च प्रहरी अधिकारीहरूका अनुसार देउवा दम्पतीसँग जोडिएको विषयमा अनुसन्धान प्रक्रिया अझै जारी छ । तर, इन्टरपोलले ‘रेड नोटिस’ जारी गर्ने वा नगर्ने भन्ने अन्तिम निर्णय भने महासचिवालयकै अधिकार क्षेत्रभित्र पर्ने बताइएको छ ।