फागुन २७, सल्यान – सल्यानमा आसन्न (स्ववियु) निर्वाचनमा चार विद्यार्थी संगठनका दुई गठबन्धन हुने भएको छ ।

चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनमा सल्यानमा नेकपा एमाले निकट अनेरास्ववियु र नेपाली कांग्रेस निकट नेबिसंघ बिच गठबन्धन गर्ने सहमति भएको हो ।

सहमति अनुसार सल्यानका ७ मध्ये ३ क्याम्पसको नेतृत्व अनेरास्ववियु र ४ क्याम्पसको नेतृत्व नेबिसंघले लिने भएका छन । जस अनुसार सल्यान बहुमुखी क्याम्पस खलंगा, शारदा क्याम्पस शंखमुल र बनगाड क्याम्पसको नेतृत्व अनेरास्ववियुले लिने र जनकल्याण क्याम्पस थारमारे, शिवजन क्याम्पस शितलपाटी, कपुरकोट बहुमुखी क्याम्पस कपुरकोट र फारुला बहुमुखी क्याम्पसको नेतृत्व नेबिसंघले लिने सहमति भएको हो ।

यस्तै यता नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) र नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु विच सल्यानमा रहेका ७ क्याम्पसहरुमा निर्वाचन प्रक्रियामा संगै जाने गरि सहमती भएको छ ।

चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनमा एकै दिन देशभरिका त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २७ गते मङ्गलवार