नेपाली कांग्रेसले नेपाल किसान महासंघ केन्द्रीय तदर्थ समितिमा थप ५० जना सदस्य थप गरेको छ।
पार्टीको गत ६ गते बसेकाे केन्द्रीय कार्यसमितिको बैठककाे निर्णय अनुसार मंगलबार सभापति शेर बहादुर देउवाले गणेश तिम्सिना अध्यक्ष नेतृत्वमा रहेको उक्त महासंघको केन्द्रीय सदस्यमा ५० जनालाई मनाेनित गरेका हुन।
जस अनुसार राेल्पाकाे गंगादेव गाउँपालिका -३ चामीका इन्द्रबहादुर खत्री पनि मनाेनित सदस्यमा परेका छन। खत्रीकाे राेल्पामा लुम्बिनी प्रदेशकै सबैभन्दा ठुलो किबि फर्मा समेत छ। उनले किबि फलफूल नर्सरी फार्म नामक फर्म संचालन गरेका छन।
खत्री पार्टीको साविक जिनाबाङ गा.वि.स सभापति, ईलाका इन्चार्ज, क्षेत्रिय प्रतिनिधि, क्षेत्रिय सहसचिव र दुई कार्यकाल जिल्ला सदस्य समेत बनेका थिए। २०७४ सालको स्थानीय तह निर्वाचनमा गंगादेव गाउँपालिका–३ को वडाध्यक्ष पदमा उम्मेदवार थिए।
कसरी लागे इन्द्रबहादुर किबि खेतीमा ?
रोजगारीका लागि भारत गएका थिए। हिमाञ्चल प्रदेशस्थित कृषि विश्वविद्यालयको फार्ममा काम गरे। जिनावाङको वातावरण लगभग हिमाचल संग मिल्दोजुल्दो थियो। हिमाञ्चलको किबी रोल्पामा पनि गज्जब फल्छ भन्ने विश्वास थियो।इन्द्रबहादुर कृषि फार्ममा काम गर्ने साधरण कामदार थिए तर उनले इमानदारी र मिहिनेतका कारण विश्वविद्यालयका कर्मचारी र विज्ञको मन जितेका थिए ।
यसै कारणले त्यहाँका कृषिविज्ञ डा.कृष्णकुमारले इन्द्रबहादुरलाई भान्से बनाए। दुई जनाबीचको सम्बन्ध गढा हुँदै गयो। एक दिन इन्द्रबहादुरले किबी खेतीबारे कृष्णकुमारलाई आफ्नो मनको कुरा सुनाए । उनी रोमाञ्चित भए अनि रोल्पा जाने इच्छा प्रकट गरे।
त्यो समय जिनावाङ आउजाउ गर्न मोटर बाटो थिएन। भारतबाट विज्ञसहितको टोली रोल्पा आउजाउ गर्न निकै ठूलो खर्च लाग्थ्यो। कृष्णकुमारले सोधे– यहाँबाट तिम्रो गाउँसम्म आउजाउ गर्ने खर्च जुटाउन सक्छौ ? इन्द्रबहादुर त्यसरी खर्च गर्न सक्दैथे। कृष्णकुमारले जुक्ति फुराए, कृषि क्षेत्रमा काम गगर्ने संस्था खोजे। जिनावाङकै पूर्वशिक्षक टीका प्रधानले प्रस्ताव तयार गरेर संस्थामा पुर्याउन सहयोग गरे।
एउटा संस्थाले एक लाख रुपैयाँ सहयोग गर्यो। त्यही खर्चले इन्द्रबहादुर र कृष्णकुमार सहितको एक टोली जिनावाङ पुगेर अनुसन्धान गर्यो। जिनावाङमा किबी खेतीका लागि उच्च सम्भावना देखियो। इन्द्रबहादुर खुसी भए। यसरी ३२ वर्षअघि २०४८ सालमा इन्द्रबहादुरले हिमाञ्चलबाट किबीका बिरुवा जिनावाङ पुर्याए। उनले विज्ञको सल्लाहअनुसार मिहिनेत गरे। फल लाग्न थाल्यो। कमाइ हुन थाल्यो।
त्यही समय तत्कालीन नेकपा माओवादी र सरकारबीच सशस्त्र द्वन्द्व सुरु भयो। इन्द्रबहादुर नेपाली कांग्रेसमा अस्था राख्थे। उनीमाथि दिनप्रतिदिन सुरक्षा चुनौती बढ्यो। एक दिन उनलाई ज्यानकै धम्की आयो। श्रीमती ओकी खत्रीले घर छाड्न सल्लाह दिइन्। इन्द्रबहादुर दाङको तुलसीपुर पुगे। शान्ति प्रक्रिया सुरु भएपछि २०६३ सालमा उनी गाउँ फर्केर फेरि किबी खेती जगाउन थाले।
उनले एउटा सानो कोल्डस्टोर (शीतभण्डार) पनि बनाएका छन्। मंसिरमा टिपेको किबी भण्डारण गरेर जेठसम्म बेच्छन्। उनका अनुसार सामान्यतया किबी जातअनुसार समुद्री सतहबाट आठ सय मिटरदेखि २४ सय मिटरको उचाइसम्म फल्छ। उनको ठाउँ एक हजार ८९० मिटर हारहारी उचाइमा छ। यस्तो ठाउँ किबीको लागि उपयुक्त मानिन्छ।
उनका अनुसार यो उचाइमा एलिसिना र हेवार्ड जातको किबी राम्रो हुन्छ। आठ सयदेखि एक हजार मिटको उचाइमा रेड प्रजातिको किबी राम्ररी फल्छ। सामान्यतया एक बोटमा कम्तीमा सय केजीसम्म किबी फल्छ। वर्षमा एक पटक गोडमेल गर्नुपर्छ, एक पटक मल दिनुपर्छ। आफैँले बनाएको कम्पोस्ट मल उपयुक्त हुन्छ।
अहिले काठमाडौं, धनगढी, नेपालगञ्ज, विराटनगरसम्मका व्यापारी किबी किन्न उनको बारीमै आउँछन्। उनको खेतीमा किबी टिप्ने समय हुनै लागेको छ। राम्ररी छिप्पिएपछि मात्रै टिप्छन्। ‘व्यापारीहरू त कलिलैमा पनि किन्न खोज्छन् तर म छिप्पिएपछि मात्रै टिप्छु। बोट ठेक्कामा दिने गरेको छैन। आफैँ टिपेर बेच्छु,’ उनले भने।