श्रावण १३ काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएपछि वालुवाटारमा आज बसेको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल समूहको भेलामा हात हालाहालसम्मको स्थिति देखिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रचण्ड–नेपाल समूहको छलफललाई भेला भन्ने कि बैठक भन्ने विषयमा सहमति हुन नसक्दा हात हालाहालको स्थिति उत्पन्न भएको हो ।

सहमतिबिना प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले स्थायी कमिटी बैठक स्थगित गरे पनि बालुवाटारमा प्रचण्ड–नेपाल समूहले भेला राखेका थिए । सो भेलामा सचिवालयका ५ जना सदस्य अनुपस्थित थिए । प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीलाई भेटेर आएपछि प्रचण्डले सुरुमैै बिफ्रिङ गरे, ‘प्रधानमन्त्रीले बैठक स्थगित भइसकेको छ, अब तपाईँ पनि बैठक नचलाउनुहोस, यसले वैधानिकता पाउँदैन भन्नुभयो, त्यसैले अब जेजे हुनु भइसक्यो, यसलाई बैठक नभनौँ, बैठक भन्यो भने अर्को दुर्घटनातर्फ जान्छ ।’

प्रचण्डले बालुवाटारमा जारी छलफललाई बैठक नभन्ने जनाएकाले हुन सक्छ, बैठकको अन्तिममा निष्कर्ष सुनाउँदै कृषि तथा पशुपन्क्षी विकासमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य घनश्याम भुषालले एउटा कागजमा टिपोट गरेर भने, ‘आजको यो भेलाले पार्टीभित्र सहमति खोज्ने जिम्मा अध्यक्ष कमरेड प्रचण्डलाई दिएको छ, उहाँहरू बसेर आगामी बैठकको मिति तय गर्नुहुनेछ । मन्त्री भुषालले यो अभिव्यक्ति दिइनसक्दै स्थायी कमिटी सदस्यहरू बेदुराम भुषाल, रघुजी पन्त र अष्टलक्ष्मी शाक्य बुरुक्कै उफ्रिए, हो–हल्ला गर्न थाले । तीन नेतामध्ये बेदुराम भुषाल र रघुजी पन्तले यसलाई ‘बैठक नै भन्नुपर्ने, भेला भन्न नहुने’ भन्दै सुरुदेखि नै तर्क गर्दै आएका थिए ।

मन्त्री भुषालले एउटा चिटमा लेखेर सुनाएको सो निष्कर्ष सुन्ने बितिक्कै पन्त भने आफ्नो ठाउँबाट जुरुक्क उठेर भुषालतर्फ लम्किए । भुषालले लेखेको कागज खोस्न लागेपछि एकछिन हल्ला मच्चियो । भुषालको हातको चिर्कटो खोस्न खोज्दै पन्तले रिसाएर भने, ‘यो भेला होइन, बैठक हो, बैठक हो भन्नुहोस, बैठकलाई भेला भन्ने तपाईं को हो ?’
यो रमिता प्रत्यक्ष देखेका एक स्थायी कमिटी सदस्यले शिलापत्रसँग भने, ‘मन्त्री भुषाल त पन्तको व्यवहार देखेर अकमक्क भए ।’

त्यसपछि बैठक भन्ने कि भेला भन्नेबारेमा निर्णय गर्ने अधिकार हलले अध्यक्ष प्रचण्डलाई दियो । ‘अनि बल्ल बोले प्रचण्ड,’ ती नेताले प्रचण्डलाई उद्धृत गर्दै भने ‘आजको यो बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहमति खोज्ने जिम्मा मलाई दिएको छ, हामी दुई मिलेर सहमतिको आधारमा अर्को बैठकको मिति तय गर्छौं ।’ मन्त्री भुषालले सुनाउन खोजेको निष्कर्षमा मुख्यतः वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरले अस्वीकार गरेपछि प्रचण्डले सुनाउनुपर्ने अवस्था देखिएको तत्कालीन माओवादी पक्षका एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

बैठक कि भेलामा अल्झिएपछि भेला ‘माइन्युट’ नै नगरी सकिएको छ । पार्टीको आधिकारिक ‘माइन्युट बुक’ प्रचण्ड–नेपाल समूहसँग नभएका कारण निर्णय लेख्न नसकिएको ती नेताको भनाइ छ । नेकपा बैठकको निर्णय लेख्ने जिम्मा महासचिवलाई दिइएको छ । तर उक्त भेलामा महासचिव विष्णु पौडेल नै उपस्थित थिएनन् । उनी उपस्थित नभएपछि पार्टीको ‘निर्णय पुस्तिका’ सो भेलासम्म पुग्न नसकेको हो ।

निर्णय पुस्तिका नभएपछि मन्त्री भुषालले एउटा कागजमा भेलाको निष्कर्ष लेखेका थिए । तर उनले लेखेको कागज पनि रघुजी पन्त, बेदुराम भुषाललगायतले च्यात्न खोजेपछि प्रचण्डले मौखिक रूपमा निर्णय सुनाउनुपरेको सहभागी एक सदस्यले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ साउन १३ गते मङ्गलवार