नेकपा (माओवादी केन्द्र) लुम्बिनीका उपाध्यक्ष वीरबहादुर खत्री (भिउदे)ले अलगअलग नामबाट दुईवटा नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालय रोल्पामा उजुरी परेको सात वर्ष पुग्यो। तर अहिलेसम्म उनी माथि कुनै कानुनी कारबाही भने भएको छैन। उनी राेल्पाकाे गंगादेव गाउँपालिका अध्यक्ष हुन।
‘झुठा विवरण पेश गरी दोहोरो नागरिकता लिएको’ तथ्य–प्रमाणसहित स्थानीय हरिबहादुर पुन (हालका गाउँपालिका अध्यक्ष)ले यथाशीघ्र छानविन र कारबाहीको माग गर्दै २०७४ साल माघ १५ गते प्रशासनमा उजुरी दर्ता गरेका थिए। सत्ता र शक्तिको आडमा कानुन छल्दै उम्किरहेका खत्रीले फरकफरक नाम र फरकफरक मितिमा दुईवटा नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय रोल्पाले पनि पुष्टि गरेको छ।
उजुरीमा खत्रीले २०४२ मंसिर १० गते भिउदे खत्रीको नामबाट ३८९२ नम्बरको र २०४६ वैशाख १५ गते वीरबहादुर खत्रीको नामबाट १८६ नम्बरको नागरिकता लिएको भन्दै छानबिन गरि कारबाहीको माग गरिएको थियो । उजुरीपछि जिल्ला प्रशासन कार्यालयले आवश्यक अनुसन्धान गरेर २०७५ असोज २६ गते दुबै नागरिकतासँग सम्बन्धित सम्पूर्ण सक्कल कागजात परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाएको थियो । प्रयोगशालाले एउटै व्यक्तिका नामबाट दुईवटा नागरिकता लिएको पुष्टि गर्दै २०७५ कात्तिक ५ गते जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो ।
वीरबहादुर खत्री ‘भिउदे’ले स्वंय आफ्नो र मृत्यु भइसकेका सहोदर भाइको नामबाट नागरिकता लिएको प्रमाण पुरानो फाइल पल्टाउँदा फेला पार्दा पनि माओवादी नेता वर्षमान पुनकाे आडमा तत्कालीन प्रमुख जिल्ला अधिकारी तथा हाल गृह मन्त्रालयमै रहेका उपसचिव डिजन भट्टराईले कारबाही गर्न नखोजेको प्रशासन स्राेतले बताउँछ।
स्रोतका अनुसार तत्कालीन प्रजिअ भट्टराईले सत्ता र शक्तिको आडमा काम–कारबाही अघि नबढाइ दुई नागरिकताधारी खत्री विरुद्धको उजुरी दराजमै थन्काउन महत्वपूर्ण भूमिका खेलेका थिए। खासगरी उनलाई तत्कालीन उर्जामन्त्री वर्षमान पुन र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनले कारबाही नगर्न दबाब दिएको बुझिएको छ।
डिजन भट्टराई रोल्पाबाट सरुवा भएपछि प्रमुख जिल्ला अधिकारीको रुपमा गञ्जबहादुर एमसी पुगे र उनले कारबाही अघि बढाए। ‘स्थानीयको चर्को दबाबपछि गञ्ज सरले कारबाही गर्न खोज्नुभएको थियो। तर फेरि नेताहरूले रोके,’ प्रशासनकै अर्का अधिकारी भने।
जिल्ला प्रशासन कार्यालय रोल्पाका अनुसार उनको साहिला भाइ वीरबहादुर खत्रीको २०४० सालतिर नागरिकता प्राप्त नगरेरै मृत्यु भएको थियो। पञ्चायतकालमा गाउँमा पुगेको नागरिकता टोलीलाई नागरिक नबनाएको झुठो विवरण पेश गरी भाइ बीरबहादुर खत्रीको नाम उल्लेख गरी १८६ नम्बरको नागरिकता २०४६ वैशाख १५ गते लिएको र त्यस नागरिकतामा जन्म मिति २०२७ भदौ १ गते उल्लेख छ।
खत्रीका बुबा पठुको २०३६ सालको अस्थायी नागरिकता निस्सामा जेठो भिउदे, माइलो धनिराम र साइलो वीरबहादुर उल्लेख रहेको प्रशासनमै रेकर्ड प्रमाण छ। ललितपुरको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले दुईवटै नागरिकता एउटै व्यक्तिको रहेको पुष्टि गर्दै २०७५ कात्तिक ५ जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ।
खत्रीलाई थप कारबाहीका लागि तत्कालीन प्रमुख जिल्ला अधिकारी एमसीले मन्त्रालयमा खबर गर्दा तत्कालीन गृहमन्त्री रामबहादुर थापा, तत्कालीन उर्जामन्त्री वर्षमान पुन र उनको सचिवालयमै रहेका रोल्पाका पूर्वप्रजिअ भट्टराईले उल्टै ‘वीरबहादुर खत्रीविरुद्ध जुटाएका सबै कागजात मन्त्रालयमै पठाउनू’ भनेर लिखित रूपमा निर्देशन पठाए। अनि तत्कालीन प्रजिअ एमसीले सबै फाइल गृह मन्त्रालयमै पठाइदिए। र, लगतै भनियो, ‘यससम्बन्धी सबै कारबाही अब उतैबाट हुनेछ।’
दुईवटा नागरिकता लिएका व्यक्ति वीरबहादुर खत्री अर्थात् भिउदे सत्ता र शक्तिको आडमा कारबाही भोग्नबाट जोगिँदैआएका छन्। ‘भिउदे खत्रीलाई माओवादी नेताको आडमा कारबाही गरिएन। यतिबेला गृहमन्त्री रवि लामिछाने हुनुहुन्छ। यस्तो बेला पनि उनीमाथि कारबाहीको भागिदार भएनन् भने सधैँ जोगिने छन्,’ रास्वपा रोल्पाका एक नेताले भने, ‘त्यसो त भिउदेविरुद्ध प्रमाण जुटाइएको फाइल नै गृह मन्त्रालयमै थन्किएको छ।’
यसबारे अहिलेका राेल्पा प्रजिअ परमानन्द घिमिरेले जिल्लामा पुराना रेकर्ड रहे पनि फाइल गृहमै रहेकाले जिल्लाबाट केही गर्न नसकिने बताए ।