उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा सहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका छन् ।
आइतबार गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै सो निर्देशन दिएका हुन् ।
मन्त्रालयमा आयोजित भेटघाटमा मन्त्री लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया आजै सुरु गर्न समेत निर्देशन दिएका छन् । सो का लागि विनोद चौधरीसहितलाई अनुसन्धान प्रक्रियामा ल्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिने भएको बुझिएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पनि सो प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।
विद्युतीय चुरोट भेपमार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले समेत महरासँग गत असोज १५ गते बयान लिएको थियो। असोज १५ गते साँझ पौने सात बजेदेखि साढे सात बजेसम्म करिब ४५ मिनेट सीआईबीले महराको बयान लिएको थियो।
भेममार्फत भएको सुन तस्करीमा जोडिएका चिनियाँ नागरिक दाओजिन वाङ्गसँग महराको फोन सम्पर्क भएको देखिएको थियो। उक्त कुरा महरा स्वयमले समेत स्वीकार गरेका थिए। दाओजिनसँग आफ्नो पुरानो चिनजान रहेको महराले सीआईबी समक्ष स्विकारेका थिए। वाङ्गले मलाई आफू एउटा फलफूल व्यापारीको रूपमा नेपालमा व्यापार गर्ने भनी चिनाएकाले त्यही रुपमा लिएर विमानस्थलको तत्कालीन भन्सार प्रमुख अरुण पोखरेललाई फोन गरेको भन्दै सुन तस्करीबारे जानकारी नै नभएको दाबी गर्दै बयान दिएका थिए।
यता सोही भेपमार्फत भएको ९ किलो सुन तस्करीमा भने महराका छोरा राहुललाई पक्राउ गरेर सीआईबीले मुद्दा चलाएको थियो। उनी अहिले पुर्पक्षका लागि कारागारमा छन्। राहुलसँग यसअघि नै आयोगले बयान लिइसकेको छ। गत साउन २ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सारबाट पास भएर बाहिरिँदै गरेको ६१ किलो सुन राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो।