शिरमा रातो मजेत्रोको
फेटा गुथेकि कम्मरमा निलो पटुकी कसेकी
छिटको गुन्यु मखमली चोली
दिव्य सुन्दरी मेरी आमा।

आँगनको डिलमा बसेर
तिम्रै बाटो हेर्छु तल फांटमा
प्रतीक्षा गर्दागर्दै आँखा थाक्छन्
तिमी आउँदिनौ आमा।
तिमीले त बाटो मोड्यौ आमा।

दरौंखोलाको तिरैतिर हिंडेको
एउटा साया देख्छु
उहीँ मजेत्रो उहीँ गुन्यु
अब त उकाली लाग्यौ कि
आशाको त्यान्द्रो प्रफुल्ल हुन्छ
तिमी त अर्कै बाटो लागेउ आमा
मेरा आँखा लोलाए
मेरा आँखा टोलाए
तिमीले बाटो मोड्यौ आमा।

भावुक आँखा मलिन अनुहारले
बा को मुख पुलुक्क हेर्छु
अंगालो भरी कसेर
तिम्रो आभास गराउंछन् आमा
आमा माथि आकाशबाट
तिमीलाई नै हेर्दैछिन्
उ ती चम्किली तारा हेरत
हो उनै हुन् तिम्री आमा
मन आल्हादित हुन्छ
एकैछिनमा कालो बादल
मडारियर आउछ मेरी आमालाई
घप्लक्कै ढाक्छ
म अवाक् हेरिरहें
बा का आँखा अझै माथि नै
थिए तिमिले बाटो मोड्यौ आमा।

घुंडामाथि टाउको टेकाएर
अगेनाको छेउमा पनि तिम्रै
आभास खोज्छु आमा
कुटुनी बुढी जस्तै कुप्रि परेर
भंडारको सिंढी चढ्दै
आँटीको घोप्टे उघार्दै
फुत्त माथि जान्छ्यौ
फांकेको चामल हातले नापेर
फेरि फुत्त आउंछ्यौ आमा
तिमी जता जान्छ्यौ
मेरा आँखा तिम्रै पछि हुन्छन् आमा
बाले कसौंडीमा पन्यु ठोकेपछि पो
झल्यांस्स हुन्छु आमा
हेर्छु तिम्रो छांया भंडारकै
खोपितिर लाग्यो
तिमीले बाटो मोड्यौ आमा

कोठामा तिमी चोटामा तिमी
बुंईगलमा तिमी पिंढीमा तिमी
आँगनमा तिमी मझेरीमा तिमी
गोठमा तिमी करेसामा तिमी
पखेरामा तिमी छहरामा तिमी
छैनौ त खाली मेरो जीवनमा तिमी
आमा तिमीले बाटो किन मोडयौ
बालापनमा हामीलाई अधुरै छोड्यौ
आमा तिमीले बाटो किन मोड्यौ?

प्रकाशित मिति : २०७७ माघ २२ गते बिहिवार