चैत २३, सल्यान – सल्यानको शारदा नगरपालिका १२ मुलडाँडामा एसईई परीक्षा दिईरहेका विद्यार्थीबिच आपसी वादविवादका क्रममा कुटपिट हुँदा एक विद्यार्थी गम्भीर घाइते भएका छन् ।
शारदा नगरपालिका ७ कजेरीका अन्दाजी १९ वर्षीय विर बहादुर बुढाथोकी लगायत ७/८ जना विद्यार्थीले छत्रेश्वरी गाउँपालिका ६ भोटेचौरका अन्दाजी १९ वर्षीय सन्दिप थापालाई कुटपिट गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
परीक्षा दिने समयमा वादविवाद भएकोमा बुढाथोकीको समूहले थापामाथि कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए ।
गम्भीर घाइते थापाको सल्यान जिल्ला अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको श्रेष्ठले बताए ।
कुटपिट गर्ने बुढाथोकी लगायतका विद्यार्थी फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।