माघ ११ दाङ – लुम्बिनी प्रदेश राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा तीन दलले उम्मेदवारी दर्ता गराएका छन।
सत्तारूढ दल एमाले र प्रमुख प्रतिपक्षी दल कांग्रेसले रोल्पाबाटै उम्मेदवार तयार गरेका छन। लामाे छलफलपछि सहमति हुन नसकेपछि सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीले छुट्टै उम्मेदवार त्याे पनि कर्णाली प्रदेश सल्यानका नेतालाई उम्मेदवार बनाएको छ।
जस अनुसार एमालेबाट केन्द्रीय सदस्य तथा राेल्पा जिल्ला सह-इन्चार्ज कुमार दसौदी र कांग्रेसबाट राेल्पाका पुर्व पार्टी सभापति माधवप्रसाद आचार्यले मनोनयन दर्ता गराएका छन्। नागरिक उन्मुक्ति पार्टीबाट सल्यानका राजेन्द्रवीर रायले मनोनयन दर्ता गराएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएकाे छ। राय गत मंसिर ४ काे निर्वाचनमा एमाले सल्यानबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार हुन। उनी पराजित भएका थिए।
माघ २५ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदानका लागि माघ १२ गते उम्मेदवारको विरोधमा उजुरी दिने, माघ १३ र १४ गते मनोनयन पत्र र उजुरीउपर जाँचबुझ, माघको १६ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने निर्वाचन कार्यतालिका छ।
फरक प्रदेशबाट उम्मेदवारी परेकाे विषयमा भने उम्मेदवारीका लागि कुनै पालिकाकाे मात्रै भनिएकाेले फरक प्रदेशबाट परेको उम्मेदवार मनाेनयनका बारेमा १६ गते अन्तिम नामावली प्रकाशनका बेला सम्म छलफल तथा न्यायाधीशकाे निर्णय अनुसार एकिन हुने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
।
लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३०५ रहेको छ। जसमध्ये प्रदेश सांसदको संख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१८ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।
प्रदेशका १०९ पालिकामध्ये कांग्रेसले ४८ पालिका, एमालेले २७, माओवादीले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २/२ तथा राप्रपा र जनता प्रगतिशीलले १/१ स्थानमा जितेका छन्। प्रदेश सभामा ८७ सदस्यीय प्रदेश सभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४/४, जसपा, लोसपा र जनमतले ३/३ जनमोर्चा र नेकपा एकीकृत समाजवादीले १/१ र स्वतन्त्रबाट २ जनाले जितेका छन्। राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने व्यवस्था छ।
नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदपूर्तिका लागि उपनिर्वाचन हुन लागेको हो।