कार्तिक २० राेल्पा – मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनकाे मुखमा रहेकाे बेला सत्ता गठबन्धन निकटकाे दल नेकपा माओवादी केन्द्र र बागी उम्मेदवार बिच जुहारी चल्न थालेको छ।

गठबन्धन गर्ने कि नगर्ने भन्ने लामाे खिचातानी पछि अन्ततः गठबन्धन गर्ने निर्णयमा सत्ता गठबन्धनका दल पुगेपछि उम्मेदवारी भागबन्डाबाट असन्तुष्ट रहेर माओवादी केन्द्र पाेलिटब्युराे सदस्य तथा राेल्पा जिल्ला इन्चार्जबाट राजिनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका दिपेन्द्र कुमार पुन `सिजल´ले केही दिन अघि मात्रै आफ्नो पार्टी पंक्तिकाे नेतृत्व संगकाे सहमति मै स्वतन्त्र उम्मेदवारी दिएकाे विज्ञप्ति मार्फत सार्वजनिक गरेपछि माओवादी केन्द्र जिल्ला कमिटी राेल्पाले उक्त विज्ञप्ति प्रति ध्यानाकर्षण भएको भन्दै स्पष्टीकरण दिएकाे छ।

आइतबार एक विज्ञप्ति सार्वजनिक गर्दै स्वतन्त्र उम्मेदवार सिजलले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएकाे व्यहाेरा सत्यता नभएको स्पष्ट पारेकाे छ। `पार्टीको नितिलाई अवलम्बन गर्दै गठबन्धनका साझा उम्मेदवारलाई विजयी बनाउनु पार्टीको कर्तव्य हाे। यसर्थ पार्टीको नीति,विधि भन्दा बाहिरका गतिविधि नगर्न नगराउन पार्टी, पंक्ति कार्यकर्ता सबैमा अनुराेध गर्दछौ।´ विज्ञप्तिमा भनिएको छ।

त्यसैगरि स्वतन्त्र उम्मेदवार सिजललाई उक्त विज्ञप्ति मार्फत आफ्नो उम्मेदवारी निष्क्रिय बनाई पुन:पार्टीको नीति अवलम्बन गर्न समेत आग्रह गरिएको छ।

के थियाे सिजलकाे विज्ञप्ति ?

रोल्पाको प्रदेश सभा (ख) मा उम्मेदवारी दिएका सिजलले नेतृत्व वर्ग र पार्टीपंक्तिकै सहमतिका आधारमा उम्मेदवारी दिएकाे गत बिहीबार एक प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेका हुन।

`प्राविधिक रूपले मैले राजिनामा दिए तापनि नेतृत्व वर्ग र आम पार्टीपंक्तिको सहमतिका आधारमा यो उम्मेदवारी दिएको हुँ,यो मेरो व्यक्तिगत निर्णय मात्र होइन तर आज कतिपयले आफ्नो छाला जोगाउन कसले के बोलिरहेका छन् मलाई थाहा छैन, मलाई यत्ति कुरा थाहा छ कि , रोल्पाको अनौपचारिक रूपले पार्टीपंक्ति र आम मतदाताहरू सबै स्पष्ट नै हुनुहुन्छ।´ उनले विज्ञप्तिमा भनेका थिए।

उम्मेदवारी दर्ताकाे दिनभरि पार्टीको विभिन्न तहमा छलफल परामर्श गरी आफूले स्वतन्त्र उम्मेदवारी दिने निश्कर्षमा पुगेर अन्तिम समयमा सबैभन्दा पछाडि उम्मेदवारी दर्ता गरेको समेत विज्ञप्तिमा उल्लेख गरेका थिए।

सिजलले सार्वजनिक गरेको विज्ञप्ति

यसअघि सदरमुकाम गठबन्धनकाे एक संयुक्त कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव तथा प्रतिनिधि सभाका उम्मेदवार समेत रहेका वर्षमान पुनले पनि पार्टी स्वतन्त्र उम्मेदवार निष्क्रिय गर्ने प्रक्रियामा रहेको हुने समेत दावि गर्दै पछिल्लो समय स्वतन्त्र उम्मेदवार सिजलसंग आफ्नो त्यति कुराकानी नभए पनि सिजल अध्यक्ष प्रचण्ड संग निरन्तर सम्पर्कमै रहेको समेत बताएका थिए।

राेल्पासंग माओवादी केन्द्रकाे केन्द्रीय कनेक्सनमा मुख्य पात्र वर्षमान हुन भने यता जिल्लामा वर्षमानकाे मुख्य पात्रकाे रुपमा अहिले स्वतन्त्र उम्मेदवारी दिएका सिजल मानिन्छन। विगतको राजनिती अवस्था हेर्दा वर्षमान-ओनसरी दम्पतीकाे बलियाे खम्बा बनेका पात्र हुन सिजल। याे निर्वाचनमा प्रतिनिधि सभाका लागि वर्षमान बाहिरी जिल्लाबाट उम्मेदवार बनेको अवस्थामा राेल्पाबाट सिजल नै दावेदार मानिएका थिए। यसाे त यसपल्ट वर्षमानबाट अवसर र ठाउँ पाउने आशामा रहेका सिजललाई गठबन्धनको प्रभावले वर्षमानले उनलाई अवसर नदिएपछि पार्टीमै बागी उम्मेदवारीकाे अवस्था सिर्जना भएको हाे।

त्यसाे त राेल्पा प्रदेश सभा `ख´ मा गठबन्धन त्यति प्रभावकारी देखिएकाे छैन। गठबन्धन दल माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरु गठबन्धनकाे चुनावी सभामा त्यति उपस्थित नहुने तथा प्रचारप्रसारमा समेत गठबन्धनलाई नभई स्वतन्त्र उम्मेदवारकाे प्रचारप्रसार समाजिक संजाल मार्फत खुलेआम गरिरहेका छन।

गत स्थानीय तह निर्वाचनमा गठबन्धन हुन नसकेको रोल्पामा प्रदेश र प्रतिनिधि सभाका निर्वाचनमा सत्ता गठबन्धनमम सहमति अनुसार एक प्रतिनिधि सभा रहेको रोल्पाबाट नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन उम्मेदवार बनेका छन भने दुई प्रदेश सभा मध्ये प्रदेश सभा (क) मा नेकपा माओवादी केन्द्रका जोखबहादुर महरा र प्रदेश सभा (ख) मा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन गठबन्धनका साझा उम्मेदवार बनेका छन।

त्यसरी स्वतन्त्र उम्मेदवारले पार्टीको सहमतिमा उम्मेदवार दिएको सार्वजनिक गरिसकेको अवस्थामा गठबन्धन नै अन्याेलमा परेकाे संकेत स्पष्ट बुझिन्छ। स्वतन्त्र उम्मेदवार बनेका सिजललाई माओवादी केन्द्रले साधारण सदस्य समेत नरहने गरि निष्कासन गरिसकेको छ।

प्रकाशित मिति : २०७९ कार्तिक २० गते आइतवार