कार्तिक १७ बुटवल – आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस लुम्बिनी प्रदेशले बिहीबार अस्थाई मुकाम बुटवलमा एक कार्यक्रमकाे आयोजना गरी घोषणापत्र सार्वजनिक गरेको छ ।
उक्त घाेषणापत्र अनुसार प्रदेशका मुख्यमुख्य शहरमा रेल चलाउने देखि सम्भावित ठाउँमा सुरुङमार्ग सम्मका ठुला परियाेजनाहरुलाई प्राथमिकतामा राखेको छ। जसअनुसार प्रदेशका मुख्य शहर मानिने रुपन्देहीको बुटवल-भैरहवा, दाङको तुलसीपुर-घोराही र बांकेको नेपालगन्ज-कोहलपुरमा रेल संचालन गर्ने र सिद्धबाबा माडी र दाङमा सुरुङ मार्ग निर्माण गर्ने उल्लेख गरेको छ।
त्यसैगरी स्वास्थ्य तर्फ लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल र राप्ती विज्ञान प्रतिष्ठानलाई विशिष्टीकृत अस्पतालका रुपमा विकास गर्ने, अत्याबश्यक औषधी उद्योग प्रदेशभित्रै स्थापना गर्ने, दीर्घरोग तथा डाइलासिसका विरामीलाई निःशुल्क उपचार गर्ने, निरोधात्मक स्वास्थ्य सेवा संचालन गर्ने उल्लेख छ ।
शिक्षा तर्फ लुम्बिनी प्रदेशलाई देशकै उत्कृष्ट शैक्षिक केन्द्रका रुपमा विकास गर्ने उदेश्य अनुरुप शैक्षिक केन्द्रका रुपमा विकास भएका बुटवल, दाड. र नेपालगन्जमा शैक्षिक पूर्वाधार र गुणस्तर विकास गर्ने, प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापना गर्ने, एक पालिका एक प्राविधिक विद्यालय बनाउने र स्टेम शिक्षा प्रणाली लागू गर्ने उल्लेख छ ।
कृषि तर्फ कृषि अनुसन्धान केन्द्र स्थापना, मल खाद कारखाना संचालन, चिस्यान केन्द्र, जडिबुटी प्रशोधन केन्द्र बनाउने र कृषिलाई बजार र अनुसन्धानसंग जोड्न आवश्यक पूर्वाधारको स्थापना र स्तरोन्नति गरि युवा तथा उद्यमशीलता तर्फ एक पालिका, एक पालिका स्तरीय उद्यम परामर्श र आविष्कार केन्द्र स्थापना गर्ने सहित एक पालिका एक खेलकुद केन्द्र र पुस्तकालय स्थापना गरी युवा लक्षित कार्यक्रम संचालन गर्ने, सिचाइ र ऊर्जाका लागि नौमुरे, बबइ, शारदा कालीगण्डकी र माडी बहुउद्देश्यीय आयोजना अघि बढाइने उल्लेख छ।
पर्यटन प्रवर्द्धन तर्फ लुम्बिनी विकास कोषलाई संघ र प्रदेशको सामुहिक कार्यक्षेत्रमा ल्याई रोलमोडलका रुपमा विकास गर्ने, बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटन पर्वद्धन गर्ने मुख्य लक्ष्य छ । लुम्बिनीलाई प्रदेशका अन्य पर्यटकीय क्षेत्रसँग जोड्ने र आसपासका अस्पतालहरुलाई बर्थिङ सेन्टरका रुपमा विकास गरी बौद्धमुलुकबाट प्रसुती गर्न आउनेलाई प्रोत्साहन गर्ने घोषणापत्रमा उल्लेख छ ।