कार्तिक १८ रोल्पा – उम्मेदवार भागबन्डामा असन्तुष्ट भएपछि सत्ता गठबन्धनकाे निर्णय विरुद्ध नेकपा माओवादी केन्द्रका पाेलिटब्युराे सदस्य तथा राेल्पा जिल्ला इन्चार्ज समेत रहेका दिपेन्द्र कुमार पुन `सिजल´ ले पार्टी नेतृत्वको सहमतिमै आफुले स्वतन्त्र उम्मेदवारी दिएको सार्वजनिक गरेका छन।
रोल्पाको प्रदेश सभा (ख) मा उम्मेदवारी दिएका सिजलले नेतृत्व वर्ग र पार्टीपंक्तिकै सहमतिका आधारमा उम्मेदवारी दिएकाे बिहीबार एक प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेका हुन।
`प्राविधिक रूपले मैले राजिनामा दिए तापनि नेतृत्व वर्ग र आम पार्टीपंक्तिको सहमतिका आधारमा यो उम्मेदवारी दिएको हुँ,यो मेरो व्यक्तिगत निर्णय मात्र होइन तर आज कतिपयले आफ्नो छाला जोगाउन कसले के बोलिरहेका छन् मलाई थाहा छैन, मलाई यत्ति कुरा थाहा छ कि , रोल्पाको अनौपचारिक रूपले पार्टीपंक्ति र आम मतदाताहरू सबै स्पष्ट नै हुनुहुन्छ।´ उनले विज्ञप्तिमा भनेका छन।
उम्मेदवारी दर्ताकाे दिनभरि पार्टीको विभिन्न तहमा छलफल परामर्श गरी आफूले स्वतन्त्र उम्मेदवारी दिने निश्कर्षमा पुगेर अन्तिम समयमा सबैभन्दा पछाडि उम्मेदवारी दर्ता गरेको समेत विज्ञप्तिमा उल्लेख गरेका छन।
यसअघि सदरमुकाम गठबन्धनकाे एक संयुक्त कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव तथा प्रतिनिधि सभाका उम्मेदवार समेत रहेका वर्षमान पुनले पनि पार्टी स्वतन्त्र उम्मेदवार निष्क्रिय गर्ने प्रक्रियामा रहेको हुने समेत दावि गर्दै पछिल्लो समय स्वतन्त्र उम्मेदवार सिजलसंग आफ्नो त्यति कुराकानी नभए पनि सिजल अध्यक्ष प्रचण्ड संग निरन्तर सम्पर्कमै रहेको समेत बताएका थिए।
राेल्पासंग माओवादी केन्द्रकाे केन्द्रीय कनेक्सनमा मुख्य पात्र वर्षमान हुन भने यता जिल्लामा वर्षमानकाे मुख्य पात्रकाे रुपमा अहिले स्वतन्त्र उम्मेदवारी दिएका सिजल मानिन्छन। विगतको राजनिती अवस्था हेर्दा वर्षमान-ओनसरी दम्पतीकाे बलियाे खम्बा बनेका पात्र हुन सिजल। याे निर्वाचनमा प्रतिनिधि सभाका लागि वर्षमान बाहिरी जिल्लाबाट उम्मेदवार बनेको अवस्थामा राेल्पाबाट सिजल नै दावेदार मानिएका थिए। यसाे त यसपल्ट वर्षमानबाट अवसर र ठाउँ पाउने आशामा रहेका सिजललाई गठबन्धनको प्रभावले वर्षमानले उनलाई अवसर नदिएपछि पार्टीमै बागी उम्मेदवारीकाे अवस्था सिर्जना भएको हाे।
त्यसाे त राेल्पा प्रदेश सभा `ख´ मा गठबन्धन त्यति प्रभावकारी देखिएकाे छैन। गठबन्धन दल माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरु गठबन्धनकाे चुनावी सभामा त्यति उपस्थित नहुने तथा प्रचारप्रसारमा समेत गठबन्धनलाई नभई स्वतन्त्र उम्मेदवारकाे प्रचारप्रसार समाजिक संजाल मार्फत खुलेआम गरिरहेका छन।
गत स्थानीय तह निर्वाचनमा गठबन्धन हुन नसकेको रोल्पामा प्रदेश र प्रतिनिधि सभाका निर्वाचनमा सत्ता गठबन्धनमम सहमति अनुसार एक प्रतिनिधि सभा रहेको रोल्पाबाट नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन उम्मेदवार बनेका छन भने दुई प्रदेश सभा मध्ये प्रदेश सभा (क) मा नेकपा माओवादी केन्द्रका जोखबहादुर महरा र प्रदेश सभा (ख) मा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन गठबन्धनका साझा उम्मेदवार बनेका छन।
अब स्वतन्त्र उम्मेदवारले पार्टीको सहमतिमा उम्मेदवार दिएको सार्वजनिक गरिसकेको अवस्थामा गठबन्धन नै अन्याेलमा परेकाे छ। स्वतन्त्र उम्मेदवार बनेका सिजललाई माओवादी केन्द्रले साधारण सदस्य समेत नरहने गरि निष्कासन गरिसकेको छ।