असार ७ भालुबाङ – दाङको राप्ती गाउँपालिकामा न्यायीक समितिले पुर्णता पाएकाे छ ।

सोमबार गाउँपालिकाको कार्यालय मसुरीयामा गाउँपालिकाको दोस्रो गाउँसभाको पहिलो अधिवेशनबाट उक्त समिति गठन गरिएको हाे।

समितिको संयोजकमा गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरी र सदस्यहरुमा वडा नम्बर -३ का वडा सदस्य ईश्वरी परियार, वडा नम्बर ५ का वडा सदस्य गोविन्द कुवर क्षेत्री रहेका छन् ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट तयार भई मन्त्रीपरिषदबाट पारित गरी संसदमा पेस गरिएको विधेयकअनुसार अधिकारक्षेत्र तोकी न्यायिक समितिलाई विवाद निरूपण गर्न संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ ।उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ ।

न्यायिक समितिले सामान्य खालका मुद्दा मामिलाहरु, जग्गा जमिन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्छ । न्यायिक समितिको अधिकार क्षेत्रको प्रयोग न्यायिक समिति संयोजक र सदस्यले सामूहिक रूपमा गर्छन ।गाउँपालिका तथा नगरपालिकाले न्यायिक समितिबाट मिलापत्र वा निर्णय भएका विवादसँग सम्बन्धित लिखत, मिलापत्र वा निर्णयको अभिलेख व्यवस्थित र सुरक्षित रूपमा राख्ने गर्छ

प्रकाशित मिति : २०७९ असार ७ गते मङ्गलवार