जेठ २४ बाँके – निर्मला कुर्मी बेपत्ता प्रकरण मुद्दामा साक्षि सहितका आन्दोलनकारी महिला माथि र तिनका बालबालिका माथि भएको आक्रमण तथा अभद्र व्यवहारको बारेमा जिल्ला प्रशासन कार्यालय बाँकेमा महिला अधिकारकर्मीकाे टाेलिले ध्यानाकर्षण पत्र बुझाएको छ।
मंगलबार दिउँसो साढे ३ बजे जिल्ला प्रशासन कार्यालय बाँकेमा प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीलाई निर्मला कुर्मीको मुद्दामा साक्षी रहेका जेष्ठ नागरिक धरनिधर पाठक सहित आन्दोलनकारी महिला माथि र तिनका बालबालिका माथि समेत भएको आक्रमण तथा अभद्र ब्यवहारको बारेमा ध्यानाकर्षण गराउदै राष्टिय महिला अधिकार मञ्चकी केन्द्रिय सदस्य मनकुमारी गुरताल, पिडित धरनिधर पाठक महिला अधिकार मञ्चका सदस्यहरुले ध्यानाकर्षण पत्र बुझाएका हुन। ध्यानाकर्षण पत्र बुझदै प्रजिअ खत्रीले आफुले पुर्णरुप न्यायकाे लागि पहल गर्ने र अधिकारीकर्मीलाई सुरक्षाकाे प्रत्याभूति समेत दिलाउने सकारात्मक प्रतिक्रिया दिएकाे अधिकारकर्मि तथा महिला अधिकार मञ्च बाँकेकि इन्चार्ज रुबि खानले जनसहारासंग बताइन्।
बाँके नेपालगन्जकी निर्मला कुर्मी र ननकुन्नी धाेवि घटनाबारे अनुसन्धानको लागि गृह मन्त्रालयले गत पुस २० गते केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई निर्देशन दिइसकेकाे छ।
यसअघि गृह मन्त्रालयका तत्कालीन सह–सचिव हिरालाल रेग्मी नेतृत्वको छानविन समितिले गत १४ कात्तिकमा गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको प्रतिवेदनमा पूर्वसभासद् बादशाह कुर्मीको भूमिका शंकास्पद रहेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सिफारिस गरेको थियो । साथै किटानी जाहेरीमा उल्लेखित अन्य ७ जनालाई पनि पक्राउ गरेर अनुसन्धान गर्न समितिले सुझाएको थियो । अहिले सह-सचिव रेेेग्मीलाई गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीलेकाे जिम्मेवारी दिएर दाङ सरुवा गरिसकेको छ।
किटानी जाहेरी र प्रतिवेदन दुवैमा उल्लेखित रमेश थापा, पार्वती विष्ट, कृष्णमुरारी सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी, धीरेन्द्र सिंह र कुँवर बबन सिंह पक्राउ परेका थिए । तीमध्ये बबन सिंह ८० वर्ष पुग्न लागेकाले हाजिरी जमानीमा त्यसवेलै छुटेका थिए । अन्य पछि छुटेका थिए। घटनाका मुख्य याेजनाकार मानिएका पूर्वसभासद् बादशाह कुर्मी पक्राउ नै परेनन।
छानविन समितिले नेपालगञ्ज उपमहानगरपालिका–१७ को साबिक परस्पुर गाविस–९ मा रहेको निर्मलाको ४ विघा १० कठ्ठा जग्गा हडपिएको निष्कर्ष निकालेको थियो । त्यसबारे अनुसन्धान गर्न विज्ञको टोली बनाउन समेत उल्लेख गरेकाे थियाे।
विभिन्न चरणमा बाँके देखि काठमाडौ सम्म आन्दोलन सहित अनसन बसेकि अधिकारकर्मी रुबि खान र गृह मन्त्रालयबीच चार बुँदे सहमति भएको समेत भएको थियाे।
१. पीडित पक्षले जिल्ला प्रहरी कार्यालय बाँकेमा दिएको जाहेरीका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मार्फत अनुसन्धान गर्ने,
२. यस घटनामा न्यायका लागि लडने साक्षी तथा अभियन्ताहरुको सुरक्षाको प्रत्याभूति गर्ने गरि सुरक्षामा ध्यान दिन गृह मन्त्रालयले निर्देशन दिने ,
३. यसअघि भएकाे सरकारी छानवीन प्रतिवेदनले उठाएका विषयहरु कार्यान्वयनमा प्रशासनिक सहजीकरण गर्न सम्बन्धित निकायलाई पत्राचार गरि कार्यनयनका निरन्तर फ्लाे-अप गर्ने,
४. अब खान सहितकाे टाेलीले आन्दोलन र सत्याग्रहसहितका दबाब मुलक कार्यक्रम रोक्ने समावेश थिए।
ध्यानाकर्षण पत्र
स्थानिय निर्वाचन २०७९ घाेषणा पछि निरन्तर ब्यक्ति केन्द्रित कुटपिट हातपात गाली गलौज धम्की जस्ता सांघातिक आक्रमण समेत गराईएको कारणले परसपुर वरपरका महिला तीनमा आश्रित बालबालिका तथा तीनका परिवारका सदस्यहरु भयभित भएको स्थानिय प्रशासन जानकार छ । स्थानिय निर्वाचनको मौका छोपी बिगतका दिन देखि निरन्तर नेपालगंज उपमहानगरपालिका वडा नं.१७, परसपुरका महिलाहरु, आन्दोलनकारी महिलाहरु खतुना बेहना माथि २०७८ बैशाख २२ गते गाली गलौज धम्की दिनमा अ.१२ बजे , सायदा दर्जि माथि २०७८ बैशाख २५ गते दिनमा अ.२ बजे तथा तिनका बालबालिका माथि समय समयमा अभद्र ब्यब्हार भईरहेको हुंदै आइरहेको छ । २०७८ बैशाख २९ गते दिनको अ.३ बजे १७ सत्रा बर्षिय बालक सद्दाम माथि भएको हातपात कुटपिट अभद्र ब्यब्हार गरियो । मिती २०७९ जेष्ठ ०४ गते राती अ.९ः३० बजे मुख्य अभियुक्त बादशाह कुर्मी सहितका करिब १५ देखि २० जनाको समुहले घरमा पसि निर्मला कुर्मीको मुद्दामा साक्षि रहेका धरनि धर पाठकको कुटपिट गरि चक्कुले प्रहार गर्दा धरनिधर पाठकले रोक्न खोज्दा हातको कान्छी औंला छिनाल्नबाट मात्र बचेको छ ।
पिडक बादशाह कुर्मी सहितका ब्यक्तिहरुले यसरी सुनियोजित ढङ्गबाट गरेको आक््रmमणमा आफनो गल्ती स्वीकार्नु भन्दा पनि उल्टै झुठा जाहेरीमा आन्दोलनको नेतृत्व गरेकी महिला आन्दोलनकारी रुबि खाँन तथा गृह मन्त्रालयले गठन गरेको निर्मला कुर्मी नन्कुन्नी धोबी हत्या छानबिन समितीका सदस्य मोहम्मद शेर बागवानको नाम समेत संग्लग्न गरी जिल्ला प्रहरी कार्यालयमा झुठा जाहेरी दिई सि.आई.बिले अनुसंधान गरि रहेको मुद्दामा निर्मला कुर्मीको नामबाट देखिएको तमसुक किर्ते भएकोले उक्त किर्ते तमसुकको मुद्दा र सम्पत्ति सुदृढिकरणको मुद्दाबाट ध्यान हटाउन, समग्रमा निर्मला कुर्मीको मुद्दाबाट ध्यान हटाउन डर त्रासको वातावरण सृजना गर्ने कार्य पिडकको तर्फबाट पटक पटक भई रहेको ब्यहोरा जानकारी गराउन चाहन्छौ ।
सरकारले आन्दोलनकारीहरु तथा निर्मला कुर्मीको मुद्दा संग सम्बन्धित साक्षि र आन्दोलनकारी तर्फबाट छानबिन समितीका सदस्य मोहम्मद शेर बागवान सहितका ब्यक्तिहरुको सुरक्षाको प्रत्याभुतिको जिम्मा लिएको छ । तर पटक पटक पिडकको तर्फबाट यो वा त्यो बहानामा साक्षि, गवाह आन्दोलनकारी महिलाहरु तथा अन्य महिला बालबालिकाहरु मा समेत डर त्रासको वाताबरण सृजना गर्ने न्यायका लागी निरन्तर प्रयासरत रहेका साक्षि तथा आन्दोलनकारी महिलाहरुलाई हताहत पार्ने उद्देश्यले यो जानी जानी पुर्व तयारी सहित सुनुयोजित रुपमा गरिएको यो आक्रमणको यस मञ्चले घोर निन्दा गर्दछ । यसरी सुनुयोजित रुपमा गरिएको आक्रमणका दोषीहरुलाई आवश्यक कार्यबाहीका लागी हार्दिक अनुरोध गदछौ ।
साथै नेपालगंज वडा नं.१७ परसपुरमा सुरक्षा ब्यवस्था थप कडा गर्न सम्पुर्ण मानव अधिकारकर्मी पत्रकार तथा स्थानिय सुरक्षा प्रशासनमा सुरक्षा ब्यवस्था कडा गर्न भयरहित वातावरणमा अभियोजनका साक्षिहरु तथा सरकारले आन्दोलनकारीहरु को सुरक्षाको प्रत्याभुति गराउने बाचा÷सहमति गरे बमोजिम सुरक्षाको प्रत्याभुति गराउन ध्यानाकर्षण सहित अनुरोध गरिन्छ ।
बोधार्थ
१.राष्ट्रिय मानव अधिकार आयोग,क्षेत्रिय कार्यालय नेपालगंज बाँके
२.राष्ट्रिय महिला आयोग, काठमाडौं
केन्द्रिय सदस्य
मनकुमारी गुरताल
महिला अधिकार मंच, बाँके