जेठ १५, सल्यान – सल्यानको बागचौर नगरपालिकामा नेपाली कांग्रेसले तीनवटा पार्टीसँग फरकफरक सहमति गरेर कार्यपालिकाको निर्वाचन गरेको छ । माओवादीका नगरकमिटी अध्यक्ष सोभाराम भण्डारीले कांग्रेसले सहमतिमा धोका दिएको बताए । उनले आफुहरु सहमतिमा अडिक रहेर अगाडि बढिरहदा कांग्रेसले द्वैध चरित्र देखाएको बताए । बागचौरमा सबैभन्दा धेरै सिट जितेको कांग्रेसले कार्यापालिका निर्वाचनको लागि ३ फरकफरक पार्टीसँग फरकफरक सहमति गरेको हो । ८ जना कार्यपालिका सदस्य निर्वाचन गर्नुपर्नेमा कांग्रेसको एउटा टिमले माओवादी र एकीकृत समाजवादी सँग र अर्को टिमले एमालेसँग सहमति गरेको पत्र यतिबेला सार्वजनिक भएको छ ।

जेठ ८ गते कांग्रेसको एउटा टिमले एमालेसँग र जेठ ११ गते कांग्रेसकै अर्को टिमले माओवादी र समाजवादी सँग गठबन्धन गरेर कार्यपालिकाको निर्वाचन गर्ने सहमति गरेका छन् ।

कांग्रेसका एकराज डाँगीको रोहबरमा जनकराज गौतम र नेत्र डाँगीले एमालेसँग सहमति गरेका छन् । जहाँ एमालेलाई ३ र कांग्रेसलाई ४ सदस्य दिने सहमति छ ।

त्यस्तै धुर्वराज पुरीको रोहबरमा नगरसभापति दिपेश डाँगीले माओवादी र एकीकृत समाजवादी सँग सहमति गरेका छन् । जहाँ माओवादीलाई २ र समाजवादीलाई १ सदस्य दिने सहमति छ ।

दुवैसँगको सहमति गरेर कांग्रेसले नयाँ कुटनैतिकबाट आफुले ६ सदस्य कार्यपालिका सदस्य निर्वाचित गरेको छ । ८ कार्यपालिका सदस्य निर्वाचन गर्नुपर्नेमा कांग्रेसका ६, माओवादी र एमालेका १/१ जना निर्वाचित भएका छन् । यता कांग्रेसका नगरसभापति दिपेश डिसीले आफुले केन्द्रको गठबन्धन अनुसार माओवादी र एकीकृत समाजवादी सँग गठबन्धन गरेको तर माथिल्लो तहले एमालेसँग गरेको बताए ।

प्रकाशित मिति : २०७९ जेष्ठ १५ गते आइतवार