जेठ १२ काठमाडौ – स्थानीय तह निर्वाचन सफल बनाउन नसकेको भन्दै निर्वाचन आयाेगले बाजुराका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र सशस्त्र प्रहरी बलका प्रमुखलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएकाे छ।

बिहीबार बसेकाे निर्वाचन आयाेगकाे बैठकले बाजुराको बूढीगङ्गा नगरपालिकामा निर्वाचनको लागि सुरक्षामा लापरबाही गरेकाले निष्पक्ष नभएको ठहर गर्दै पुनः निर्वाचन गराउनुपर्ने अवस्था आएकाले उनिहरु माथि कारबाही हुनुपर्ने निर्णय गरि सरकारलाई निर्देशन दिएकाे आयोगले विज्ञप्ति मार्फत जनाएको छ।

प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेल, नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझा र सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी उपरीक्षक दीपक विष्टलाई तीन दिनभित्र हटाएर उनिहरुकाे ठाउँमा नयाँ कर्मचारी पठाएर चुनाव गराउन सरकारलाई निर्देशन दिदै उनीहरूलाई निर्वाचन कसुरअनुसार विभागीय कारबाही गरी आयोगलाई जानकारी दिन समेत आयोगले सरकारलाई निर्देश गरेकाे छ।

प्रकाशित मिति : २०७९ जेष्ठ १२ गते बिहिवार