जेठ ७ सल्यान – गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीलाई क्षति पुग्ने खालका गतिविधि गरेकाे भन्दै अघिल्लो स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित निवर्तमान नगर प्रमुखलाई पार्टीले कारबाहीको माग गरेको छ।
बागचौर नगरपालिकाका निवर्तमानमा प्रमुख लाेकमान बुढाथोकीलाई कारबाहीको माग गरिएको हाे। शनिबार बसेकाे माओवादी केन्द्र बागचौर नगर कमिटीकाे तेस्राे विस्तारित बैठकबाट उक्त निर्णय गरिएको माओवादी केन्द्र बागचौर नगर कमिटीले जनाएको छ।
बैठकबाट नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य समेत रहेका बुढाथोकीले स्थानीय तह निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवार पराजित गराउने गतिविधिमा संलग्न रहेकाे आराेप लगाउदै जिल्ला समन्वय समिति मार्फत प्रदेश कमिटी संग कारबाहीको माग गर्दै सिफारिस गरिकाे जनाएको छ।
बुढाथोकी साेहि नगरपालिका वडा नं. ८/९ काे पार्टी कमान्ड इन्चार्ज समेत हुन। स्थानीय तह निर्वाचनमा ती दुवै वडामा माओवादी केन्द्रका उम्मेदवार पराजित भएपछि बुढाथोकीले कमान्ड इन्चार्जकाे जिम्मेवारीबाट नैतिकताको आधारमा पनि राजिनामा दिएकाे र आफ्ना उम्मेदवार पराजित हुनुमा मतदाता बिचल्ली नहुन र पार्टीले अनिवार्य समीक्षा गर्नुपर्ने भन्दै सामाजिक संजाल मार्फत सार्वजनिक गरिसकेका छन। अहिले नगर कमिटीले जिल्ला हुदै प्रदेशलाई सिफारिस गरेपनि उताकाे निर्णय भने आउन बाकी छ।
त्यसैगरी शनिबारकै उक्त बैठकबाट पार्टीका नगर कमिटी सदस्य डिल्ली वलीलाई साधारण सदस्य समेत नरहने गरि निलम्बन गरेकाे छ। वलीले पनि निर्वाचन आफ्ना उम्मेदवारलाई पराजित बनाउने कार्य गरेकाे भन्दै नगर कमिटीले निलम्बनकाे निर्णय गरेकाे जनाएको छ।