जेठ २ रोल्पा – रोल्पामा नेकपा माओवादी केन्द्रले थप दुई वटा स्थानीय तहमा विजयी प्राप्त गरेकाे छ।

परिवर्तन गाउँपालिकामा चार वटा वडा सहित अध्यक्षमा नेकपा माओवादी केन्द्रका सुकबहादुर बुढामगर र उपाध्यक्षमा कलादेवी खत्रीनी विजयी भएका छन। अध्यक्ष बुढनमगरले ३ हजार ३११ मत प्राप्त गरि विजयी भएका हुन् भने उनको निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका विश्वकुमार चन्दले ३ हजार १३१ मत प्राप्त गरेका हुन। दुई वटा वडामा भने नेपाली कांग्रेसले विजयी गरेकाे छ। याे पालिकामा ६ वटा वडा छन।

उपाध्यक्षमा खत्रीनीले ३ हजार ३८७ मत प्राप्त गरिन भने निकटतम प्रतिद्धन्दी नेकपा एमालेका सपना बुढामगरले २ हजार ३०८ मत प्राप्त गरेकी छन् ।

त्यसैगरी माडी गाउँपालिकामा पनि ५ वटा वडा सहित माओवादी केन्द्र विजयी भएको छ। अध्यक्षमा माओवादी केन्द्रका अमरसिंह घर्ती मगर र उपाध्यक्षमा जयपुरी घर्ती विजयी भएकी छन।

अध्यक्ष अमरसिंहले ३ हजार ८ सय ३० मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्धन्दी एमालेका बिजय घर्तीले ३ हजार ३ सय ८१ मत प्राप्त गरे। उपाध्यक्षमा जयपुरीले ३ हजार ९ सय ६६ मत प्राप्त गर्दा उनका प्रतिद्धन्दी कांग्रेसका कृष्णबहादुर बिकले ३ हजार ५० मत ल्याएका छन्। याे पालिकामा एकवटा वडा एकीकृत समाजवादीले लिएको छ। जम्मा ६ वटा वडा छन।

अहिले याे समाचार तयार पार्दा सम्म राेल्पामा मत परिणाम सार्वजनिक भइसकेका थबाङ, सुनिलस्मृति, परिवर्तन, माडी गाउँपालिका सहित जिल्लाकाे एक मात्रै नगरपालिका राेल्पा नगरपालिकामा माओवादी केन्द्र विजयी भएकाे छ भने गंगादेव गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। अन्य ४ वटा स्थानीय तहमा मत गणना जारी छ। राेल्पामा १० स्थानीय तह छन।

प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार