जनसहारा | विशेष समाचार
मोदीसँगको भेटमा बालेनले गरे नेपालको विकासका लागि महत्त्वपूर्ण सहमति, २४ बुँदे संयुक्त वक्तव्यमा के–के छन् ?
नयाँदिल्ली । नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको उच्चस्तरीय भेटवार्तापछि नेपाल र भारतबीच विभिन्न महत्त्वपूर्ण विषयमा सहकार्य गर्ने सहमति भएको छ।
प्रधानमन्त्री बालेन शाहको नोभेम्बर २२ देखि २३ सम्मको भारत भ्रमणका क्रममा दुई देशबीच आर्थिक सहयोग, ऊर्जा, पूर्वाधार, व्यापार, शिक्षा, स्वास्थ्य, प्रविधि, सुरक्षा तथा पर्यटनलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति भएको हो।
सोमबार नयाँदिल्लीमा भएको द्विपक्षीय वार्तापछि जारी २४ बुँदे संयुक्त वक्तव्यले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
सबैभन्दा महत्त्वपूर्ण विषयका रूपमा भारतले नेपालको पुनर्निर्माण तथा विकासका लागि २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। यसमध्ये ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ ऊर्जा क्षेत्रका आयोजनाका लागि ऋण सुविधा रहनेछ।
यस्तै, नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को क्याम्पस स्थापना, नयाँ रेलमार्ग तथा हवाई मार्ग विस्तार, जलविद्युत् आयोजना निर्माण र पेट्रोलियम पाइपलाइन विस्तारलगायतका विषय पनि सहमतिमा समेटिएका छन्।
नेपाल–भारत संयुक्त वक्तव्यका प्रमुख २४ विषय यस प्रकार छन् :
नेपालका लागि भएका २४ प्रमुख सहमति तथा निर्णय
१. २ खर्ब ४० अर्ब रुपैयाँ आर्थिक सहयोग: भारतले ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ ऊर्जा क्षेत्रका लागि ऋण सुविधा उपलब्ध गराउने।
२. चितवनमा कृषि–औद्योगिक पार्क: किसानका उत्पादन प्रशोधन, भण्डारण र बजारीकरण गर्न भारतको अनुदान सहयोगमा पार्क स्थापना गरिने।
३. ‘विकसित भारत र समुन्नत नेपाल’ साझा दृष्टिकोण: सडक, रेल, ऊर्जा, व्यापार, उद्योग र पूर्वाधार विकासमा सहकार्य विस्तार गरिने।
४. काठमाडौं–भैरहवा–लखनउ हवाई मार्ग दुईतर्फी: हाल एकतर्फी रहेको हवाई मार्गलाई दुवैतर्फ सञ्चालन गर्न मिल्ने बनाइने।
५. कान्डला बन्दरगाहबाट व्यापार: नेपालले भारतको गुजरातस्थित दीनदयाल (कान्डला) बन्दरगाह प्रयोग गरी तेस्रो मुलुकसँग व्यापार गर्न पाउने। आवश्यक पूर्वाधार बनेपछि पारादीप बन्दरगाहको पहुँच पनि उपलब्ध गराइने।
६. सीमापार पूर्वाधार विस्तार: नयाँ रेलमार्ग, पुल, एकीकृत जाँच चौकी र पेट्रोलियम पाइपलाइन निर्माणमा सहकार्य गरिने।
७. अयोध्या–जनकपुर रेल सेवा: सरयू–कमला एक्सप्रेस रेल सेवा उद्घाटन गरी धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गरिने।
८. रक्सौल–काठमाडौं विद्युतीय रेलमार्ग: प्रस्तावित रेलमार्गको स्थलगत मार्ग निर्धारण सर्वेक्षण अन्तिम भएको घोषणा। नेपालको पूर्व–पश्चिम रेलमार्ग विकासमा पनि सहकार्य गरिने।
९. बनबासामा एकीकृत जाँच चौकी: नयाँ जाँच चौकीको शिलान्यास। भैरहवा, सुनौली र दोधारा–चाँदनीमा निर्माण भइरहेका चौकीलाई पनि अघि बढाइने।
१०. दार्चुला–धार्चुला पुल उद्घाटन: नेपाल र भारत जोड्ने नयाँ सवारीसाधन सञ्चालनयोग्य सीमापार पुल सञ्चालनमा ल्याइएको।
११. सीमा स्तम्भ र विवाद समाधान: सीमा स्तम्भ मर्मत तथा सम्भारको काम अघि बढाउने र बाँकी सीमा विवाद समाधानका लागि परराष्ट्र सचिवहरूलाई निर्देशन।
१२. पेट्रोलियम पाइपलाइन विस्तार: मोतिहारी–अमलेखगन्ज पाइपलाइनको दोस्रो चरण हस्तान्तरण, झापामा पेट्रोलियम टर्मिनल शिलान्यास तथा सिलिगुडी–झापा पाइपलाइन निर्माण अघि बढाउने।
१३. ग्यास पाइपलाइनको सम्भाव्यता अध्ययन: नेपाल र भारतबीच ग्यास पाइपलाइन निर्माण गर्न सकिने विषयमा सहकार्य र अध्ययन गरिने।
१४. जलविद्युत् क्षेत्रमा लगानी: नेपालमा भारतीय कम्पनीले निर्माण गरिरहेका जलविद्युत् आयोजनालाई तीव्रता दिई विद्युत् उत्पादन तथा व्यापार विस्तार गरिने।
१५. ६६९ मेगावाटको तल्लो अरुण आयोजना: दुवै प्रधानमन्त्रीले आयोजनाको भर्चुअल शिलान्यास गरेका छन्।
१६. पञ्चेश्वर, सप्तकोशी र सुनकोशी आयोजना: पञ्चेश्वरको डीपीआर अन्तिम गर्ने तथा सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको डीपीआर निर्माण तीव्र पारिने।
१७. दुई ठूला विद्युत् प्रसारण लाइन: इनरुवा–नयाँ पूर्णिया र दोधारा–बरेली सीमापार उच्च क्षमताका प्रसारण लाइन निर्माणका लागि संयुक्त उद्यम गठन प्रक्रियामा प्रगति।
१८. नेपालमा आईआईटी क्याम्पस: भारतले नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को विदेशी क्याम्पस स्थापना गर्ने।
१९. स्टार्टअप र डिजिटल प्रविधिमा सहकार्य: नयाँ व्यवसाय, नवप्रवर्तन, डिजिटल सेवा तथा वित्तीय प्रविधिको क्षेत्रमा सहकार्य विस्तार गरिने।
२०. बैंकिङ र दूरसञ्चार सेवा सहज: नेपालमा बस्ने भारतीय र भारतमा बस्ने नेपाली नागरिकलाई बैंकिङ तथा दूरसञ्चार सेवा प्राप्त गर्न सहज बनाइने।
२१. प्रहरी अनुसन्धान र कर्मचारी तालिम: नेपाल प्रहरीको अनुसन्धान, शैक्षिक तथा सुरक्षा तालिम र नेपाली निजामती कर्मचारीको क्षमता अभिवृद्धिमा सहकार्य गर्ने समझदारी।
२२. स्वास्थ्य, आयुर्वेद र पशुपालन: स्वास्थ्य, औषधि, आयुर्वेद, परम्परागत उपचार पद्धति, पशुपालन तथा मत्स्यपालनमा सहकार्य गरिने।
२३. भूउपग्रह सञ्चार र सहरी विकास: भारतको अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) र नेपालबीच दक्षिण एसियाली भूउपग्रह प्रयोग गरी सञ्चार सञ्जाल स्थापना गर्ने तथा दिगो सहरी विकासमा प्राविधिक सहयोग गर्ने।
२४. जलवायु परिवर्तन, विपद् व्यवस्थापन र खेलकुद: जलवायु परिवर्तन, प्राकृतिक विपद् व्यवस्थापन, खेलकुद, पूर्वसूचना तथा उद्धार कार्यमा सहकार्य विस्तार गरिने। साथै प्रधानमन्त्री बालेनले मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन्, जसलाई मोदीले स्वीकार गरेका छन्।
नेपालले के पाउन सक्छ ?
यी सहमति कार्यान्वयन भएमा नेपालले आर्थिक सहयोग, जलविद्युत् उत्पादन, अन्तर्राष्ट्रिय व्यापार, यातायात, शिक्षा, प्रविधि र रोजगारीका क्षेत्रमा महत्त्वपूर्ण अवसर प्राप्त गर्न सक्छ।
विशेषगरी जलविद्युत् उत्पादन र निर्यात, कृषि उत्पादनको बजारीकरण, सीमापार व्यापार तथा अन्तर्राष्ट्रिय सम्पर्क विस्तारले नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सक्ने अपेक्षा गरिएको छ।
तर यीमध्ये कतिपय विषय तत्काल कार्यान्वयन हुने आयोजना हुन् भने कतिपय अध्ययन, प्राविधिक प्रक्रिया र भविष्यमा कार्यान्वयन गर्नुपर्ने योजनाहरू हुन्। त्यसैले वास्तविक उपलब्धि कार्यान्वयनको गतिमा निर्भर रहनेछ।
मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा
भारत भ्रमणका क्रममा प्रधानमन्त्री बालेन शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन्। मोदीले निमन्त्रणा स्वीकार गरेका छन्। यद्यपि भ्रमणको मिति भने कूटनीतिक माध्यमबाट तय गरिनेछ।