काठमाडौं। विपद्का समयमा नागरिकलाई मोबाइलमार्फत तत्काल पूर्वसूचना तथा सतर्कता सन्देश पुर्‍याउने उद्देश्यले नेपालमा सेल ब्रोडकास्ट प्रणाली (Cell Broadcast System–CBS) को प्रारम्भिक परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ।

मंसिर ७ गते गरिएको परीक्षणका क्रममा विभिन्न मोबाइल उपकरणहरूमा पूर्वसूचना सन्देश सफलतापूर्वक प्राप्त भएको जनाइएको छ।

सूचना तथा सञ्चार मन्त्रालय, गृह मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमको समन्वयमा उक्त परीक्षण गरिएको हो। यस प्रणालीमार्फत बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई समयमै सचेत गराउन सकिने अपेक्षा गरिएको छ।

अब बाढीको उच्च जोखिम रहेका क्षेत्रमा यो प्रणाली चरणबद्ध रूपमा विस्तार गर्ने तयारी गरिएको छ।

सेल ब्रोडकास्ट प्रणाली कार्यान्वयनमा आएपछि विपद्का बेला नागरिकलाई समयमै सूचना पुर्‍याउन, सम्भावित जोखिमबाट जोगिन र मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८३ मङ्सिर ८ गते सोमवार