बैशाख ११ राेल्पा – निर्वाचन कार्य तालिका अनुसार उम्मेदवार मनोनयन पत्र दर्ताकाे मुख नजिक आइपुग्दा पनि अलमलमा रहेकाे नेपाली कांग्रेस राेल्पाले भने जिल्लाकाे एक मात्रै नगरपालिका राेल्पा नगरपालिका बाहेक अन्य ९ वटा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष उम्मेदवारीको टुंगो लगाएकाे छ।

केन्द्रीय गठबन्धन कार्यनयन गर्ने भन्दै जिल्लामा आफुले ५० प्रतिशत हिस्सा माग गरेकाे कांग्रेस राेल्पाले पार्टी भित्रै स्थानीय तहका प्रमुख र उपप्रमुखकाे उम्मेदवार टुंग्याउनै सकसमा परेकाे थियाे।

जिल्लामा गठबन्धन गर्नका लागि अन्य दलहरुकाे भुमिका र हिस्साकाे हिसाब नगरी एकलौटी ५० प्रतिशत हिस्सा पाए मात्रै गठबन्धन गर्ने निर्णय गरेपछि राेल्पामा गठबन्धन नहुने निश्चित भइसकेको थियाे। फेरि कांग्रेसले मागे अनुसारकाे हिस्सा नभए एक्लै लडने चुनौती सहितको चेतावनी समेत यसअघि बसेकाे जिल्ला कार्यसमिति बैठकबाट निर्णय गरिसकेको अवस्था थियाे।

उम्मेदवार टुंग्याउनकै लागि पटकपटक बैठक बसे पनि सहमति हुन नसक्दा आइतबार बिहान पनि बैठक बसी बिना निष्कर्ष टुंगिएकाे र पुन: दिउँसोबाट बसेकाे बैठक बल्लतल्ल गाउँपालिकाहरुकाे मात्रै टुंगो लगाएकाे हाे भने राेल्पा नगरपालिकाकाे प्रमुख र उपप्रमुखकाे लागि ३/३ जनाकाे नाम प्रदेशलाई सिफारिस गरेकाे छ।

जसमध्ये प्रमुखमा शेरबहादुर थापा, खिमलाल वली र गाेविन्द आचार्य छन भने उपप्रमुखमा पुष्पा श्रेष्ठ, देवकुमारी आचार्य र लालकुमारी वलीकाे नाम सिफारिस गरिएको छ।

लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनकाे गृह जिल्ला समेत रहेकाे राेल्पामा प्रदेश सभापति पुनका भाइ हरि पुन जिल्लाकाे गंगादेव गाउँपालिका अध्यक्षमा पुनः उम्मेदवार बनेका छन भने उपाध्यक्षमा अमृता वलीलाई बनाइएकाे छ। यी दुवै उम्मेदवार २०७४ काे स्थानीय तहमा पनि साेहि पदमा उम्मेदवार थिए भने दुवैजना पराजित भएका थिए।

उता परिवर्तन गाउँपालिका अध्यक्षमा विश्वकुमार चन्दलाई अध्यक्ष र सपना घर्तीलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ। अध्यक्षका उम्मेदवार चन्दले करिब ४ वर्ष अघि नै पार्टी छाेडर तटस्थ बसेकाे सार्वजनिक गरेका थिए भने त्यसयता पुनः पार्टीमा फर्किएकाे आधिकारिक जानकारी पार्टी भित्र नभएकै समयमा एकाएक उनकाे नाम सिफारिस भएकाे थियाे भने त्यसकाे विरुद्धमा साेहि गाउँपालिका भित्रका कांग्रेस नेताहरुले जिल्ला कार्यसमितिलाई ध्यानाकर्षण पत्र समेत बुझाएका थिए।

त्यसैगरी रुन्टिगढी गाउँपालिका अध्यक्षमा जनक पुन र उपाध्यक्षमा सरिता केसी, लुङग्री गाउँपालिका अध्यक्षमा जनक खडका र उपाध्यक्षमा मुन्नीदेवी रोका क्षेत्री, थबाङ गाउँपालिकामा खरिलाल डाँगी र उपाध्यक्षमा बरमाया घर्ती , सुनछहरी गाउँपालिकामा कोमराज बुढा र उपाध्यक्षमा सोनी बुढाथोकी र सुनिलस्मृति गाउँपालिका अध्यक्षमा गञ्ज महरा क्षेत्री र उपाध्यमा तेजकुमारी विष्टलाई बनाएकाे छ।

प्रकाशित मिति : २०७९ बैशाख ११ गते आइतवार