बैशाख ९, सल्यान – नेकपा माओवादी केन्द्रले सल्यानका १० पालिका मध्ये ७ पालिकामा सर्वसम्मत उम्मेदवार टुंगाे लगाएकाे छ । अन्य तीन पालिकामा भने धेरैकाे दाबी भएकाेले उम्मेदवार टुंगाे लागेकाे छैन् ।
सर्वसम्मत उम्मेदवार टुंगाे लाग्ने पालिका प्रमुखहरुमा शारदा नगरपालिकामा प्रमाेद श्रेष्ठ, बनगाड कुपिण्डे नगरपालिकामा कर्ण बहादुर बुढाथाेकी, कालिमाटी गाउँपालिकामा पुरुस्वतम भट्टराई, कपुरकाेट गाउँपालिकामा प्रकाश भण्डारी, त्रिवेणी गाउँपालिकामा राजेन्द्र थापा, सिद्ध कुमाख गाउँपालिकामा राम बहादुर बस्नेत र दार्मा गाउँपालिकामा निम बहादुर केसीकाे नाम सर्वसम्मत सिफारिस भएकाे माओवादी केन्द्र सल्यानका जिल्ला समन्वय समिति संयाेजक किर्ती बहादुर पुनले बताए ।
उनकाअनुसार सर्वसम्मत टुंगाे नलाग्ने पालिकाहरुमा बागचाैर नगरपालिका, कुमाख गाउँपालिका र छत्रेश्वरी गाउँपालिका रहेका छन् । छत्रेश्वरीबाट अहिलेसम्म कसैकाे नाम सिफारिस गरिएकाे छैन् भने सहमतिका लागि प्रयास भैरहेकाे गाउँ कमिटी अध्यक्ष प्रेम खड्काले बताए ।
यस्तै सर्वसम्मत नहुँदा कुमाखबाट ५ जना र बागचाैरबाट ६ जनाकाे नाम सिफारिस गरिएकाे छ । सहमति नभएका पालिकाहरुकाे टुंगाे प्रदेश कमिटीले टुंग्याउने छ ।
बागचाैरबाट सिफारिस हुनेहरुमा केन्द्रीय सदस्य टिका बुढाथाेकी, जिल्ला संयाेजक किर्ती बहादुर पुन, प्रदेश कमिटी सदस्यहरु टिकाराम ओली, ज्ञान बहादुर ओली, रत्न बहादुर ओली र बहालवाला मेयर लाेकमान बुढाथाेकी रहेका छन् ।
त्यस्तै कुमाखबाट अध्यक्षका लागि सिफारिस हुनेहरुमा बहालवाला अध्यक्ष दिलमाया बुढामगर, उपाध्यक्ष डिल्लीराज जैशी, वाइसिएलका केन्द्रिय नेता गणेश शाही, पार्टीका प्रदेश कमिटी सदस्यहरु चन्द्र बहादुर राना र तिलविर बुढाथोकी रहेका छन् ।