बैशाख ८ कैलाली – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीलाई २०६४ कै अवस्थामा फर्काउन माओवादीहरू एकजुट हुनुपर्ने बताएका छन।
कैलालीको मसुरियामा आयोजित क्रान्तिकारी ध्रुवीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले; ‘हामीले हाम्रो भूमिकालाई ०६४ को अवस्थामा फर्काउनु पर्छ। अब लाग्न त ०७९ साल नै लागिसक्यो। तर, हामी माओवादी एकता गराएर ०६४ कै अवस्थामा फर्काउन सबै माओवादी एकजुट भएर लाग्नुपर्छ।’ अहिलेसम्मको परिवर्तन माओवादी आन्दोलनबाटै आएकाले त्यसको रक्षा गर्ने जिम्मेवारी आफूहरूकै भएको बताउदै देशका जतिबेला संकट आए पनि संकट मोचनको लागि माओवादी नै अग्रसर हुनुपर्ने उनकाे जाेड छ।
प्रचण्ड भन्छन, ‘हामीमाथि कसैले आइलाग्छ भने इटको जवाफ पत्थरले दिनुस्। माओवादी आन्दोलन र संघर्षका मैदानमा हारेको छैन। पछिल्लो समय माओवादी कमजोर भएजस्तो बेलामा जाली फटाहाहरूले टाउको उठाउन खोजेका छन्। माओवादीलाई नम्बर एक पार्टी बनाउनु पर्छ।’
उनले विप्लव, बाबुराम, वैद्यहरूसँग भएका साथीहरू कतै नअल्मलिएर माओवादीमा फर्किन आग्रह गर्दै ‘ढिलो नगरी वैद्यजी र वैद्यजीसँग रहनुभएका कमरेडहरू, विप्लवजी र विप्लवसँग रहनुभएका कमरेडहरू, बाबुराम र बाबुरामसँग रहनुभएका कमरेडहरूलाई अविलम्ब ध्रुवीकरणमा आउन र सुदूरपश्चिमका जनताबाट सिक्न अपिल गर्न चाहन्छु’ प्रचण्डले भन्नुभयो, ‘तपाईहरूलाई अन्याय गरिने छैन। माओवादीले विजय भएन भने देशले दुख पाउँछ भन्नेमा सबै लाग्नुस्। महान एकताको प्रक्रियामा सहभागी हुनुस्। मैले गरेको आग्रहलाई सामान्य रुपमा नलिनुस्।’ उनले देशको राजनीतिको केन्द्र अहिले पनि माओवादी नै भएको दाबी समेत गरेका हुन।
‘गाली गरे पनि ताली गरे पनि प्रचण्ड व्यक्ति होइन। प्रचण्ड यो देशको सबै क्षेत्रको मुक्तिको झण्डा हो। सबै प्रचण्ड हो र तपाईंहरूले नै प्रचण्ड जन्माएको हो। अब फेरि नयाँ अभियानको थालनी गर्नुपर्छ’ उनले भने। पाँच दलीय गठबन्धन टुटाउन ठूलो षड्यन्त्र भए पनि फेरि एकपटक असफल भएको बताउदै गठबन्धनका दलहरूले आफ्नो क्षमता हेरेर बोल्न मात्रै आग्रह गरेका छन।
‘कसैले पनि मेरै गोरुको बाह्रै टक्का नगरौँ। हिजो बेलुकासम्म गठबन्धन टुटाउन र तालमेल नहोस् महानगर र उपमहानगरमा सहमति नहोस् भन्ने षड्यन्त्र भइसकेको थियो’ प्रचण्डले भने:, ‘तालमेललाई सफल पार्न धेरै मेहनत गरेको थिएँ। अस्ति राति ३ बजेसम्म बसियो। हिजो दिनभर बसेर सर्वसम्मत ढंगले निर्णय गरेर संविधान उल्याउन लाग्नेहरू अहिले विक्षिप्त भएका छन्।’
उहाँले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएर ठूलो गल्ती भएको समेत स्मरण गर्नुभयो। एमसीसी ओलीले जस्ताको तस्तै पास गराउन चाहेको भए पनि माओवादीकै अडानको कारणले व्याख्यात्मक घोषणासहित पारित गरेको बताउनु भयो। गठबन्धनदेखि सभामुखसम्म जाने भएपछि बाध्य भएर एमसीसीको पक्षमा उभिएको बताए।