चैत ३० राेल्पा – सत्ता गठबन्धन दल नेपाली कांग्रेसले रोल्पामा आधा सिट आफ्नो भागमा नपरे गठबन्धन नगर्ने निर्णय गरेकाे छ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति लगाएत पार्टीका केन्द्रीय नेताहरुकाे उपस्थितिमा १ महिने चुनावी अभियान अन्तर्गत `घरघरमा जाऔं,कांग्रेस जिताऔं´अभियानकाे समापन तथा गठबन्धनमा जाने वा नजाने टुंगो लगाउन बसेकाे बैठकबाट जिल्लाका १० वटा स्थानीय तह मध्येबाट ५ वटामा प्रमुख र ५ वटामा उपप्रमुख, जम्मा ७२ वडामध्ये ३६ वटामा एक सदस्य सहित अध्यक्ष र ३६ वटामा ३ वटा सदस्य अनिवार्य भागमा परेपछि मात्रै गठबन्धनमा जाने निर्णय गरेकाे बुधबार बिहान जिल्ला सभापति किशाेरकुमार आचार्यद्वारा हस्ताक्षर सार्वजनिक विज्ञप्तिमा उल्लेख छ।

साहि अनुसार गठबन्धन दलहरुले कांग्रेसलाई भाग दिए गठबन्धन गर्ने र नभए सौहार्दपूर्ण तरिकाले एक्लै चुनावमा जाने निष्कर्षमा पुगेको चेतावनी समेत दिइएको छ।

उक्त एक महिने अभियानका क्रममा स्थानीय तहहरुका नेता तथा कार्यकर्ताबाट साेहि अनुसारकाे सल्लाह आएपछि त्यसै अनुसार नै अघि बढदा उचित ठान्दै आधा हिस्सा नै माग गरेकाे हाे।

रोल्पामा ४ दलिय गठबन्धन छ। जस मध्ये कांग्रेस, माओवादी केन्द्र, एकिकृृत समाजवादी र राष्ट्रिय जनमोर्चा हुन। तर कांग्रेसले मात्रै यसरी एकलौटी रुपमा आधा हिंसाको दाबी गरेपछि राेल्पामा गठबन्धनकाे सम्भावना कम भएकाे र अहिलेसम्म अन्याेलमा रहेकाे अवस्थामा अब झन धेरै सकसमा पुगेकाे छ।

यसअघि चारदलिय गठबन्धनकाे संयुक्त बैठकले केन्द्रीय गठबन्धनको निर्णय नै मान्य हुने गरि सबै स्थानीय तहलाई निर्देशन दिएका थिए।

त्यसैगरी मंगलबार नै बसेकाे केन्द्रीय गठबन्धन बैठककाे निर्णय अनुसार नगरपालिकाको मेयर तथा उपमेयर र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको सिट बाँडफाँट गरेर वैशाख ५ गते भित्र केन्द्रमा पठाउन प्रदेश निर्देशन दिएको छ।

नगरपालिकामा प्रमुख, उपप्रमुख र गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षको तालमेल गरी सिट बाँडफाँटको वैशाख ३ गते भित्र जिल्लाले प्रदेशलाई सिफारिस गर्ने र प्रदेशले अन्तिम निर्णय गरी वैशाख ५ गते भित्र केन्द्रलाई पठाउने निर्णय गरेकाे छ।

प्रकाशित मिति : २०७८ चैत्र ३० गते बुधवार