चैत २५ काठमाडौं – आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि तयार गरिएकाे आचारसंहिता आजदेखि लागू हुने भएकाे छ।

आज नै निर्वाचन आयाेगका आयुक्तहरुकाे बैठक बसेर आचारसंहिता लागू गर्नेबारे निर्णय गरि बेलुका ५ बजे आयाेगका प्रमुख आयुक्त दिनेश थपलियाले पत्रकार सम्मेलन गरि जानकारी गराउने कार्यक्रम तय गरिएकाे आयाेगले जनाएकाे छ।

राजपत्रमा समेत प्रकाशित भइसकेको आचारसंहिता नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, संवैधानिक निकाय, राजनीतिक दल, गैरसरकारी तथा निजी संस्थालगायत विभिन्न क्षेत्रलाई लागू हुनेछ। आयोगले चैत ३ गते निर्वाचन आचारसंहिता जारी गरिसकाे छ।

नेकपा एमालेले भने आचारसंहितामा भएका बहालवाला जनप्रतिनिधिले चुनाव लड्न राजीनामा दिनुपर्ने, प्रचारप्रसारमा सामाजिक सञ्जालको प्रयोग गर्न नपाइने, कुनै पनि दल वा उम्मेदवारको विरोधमा सामग्रीहरु प्रकाशन गर्न नपाइने लगायतका बुँदामा असहमति जनाउदै आयोगमा बुधबार ध्यानाकर्षण पत्र समेत बुझाएको छ। आज बस्ने आयुक्तहरुकाे बैठकमा एमालेले उठाएका समस्याको पनि समाधानको उपाय खोज्ने र त्यसको टुंगाे लगाइ आचारसंहिता आज राति १२ बजे देखि लागू हुनेगरि तयारी गरिएकाे आयाेगले जनाएकाे छ।

प्रकाशित मिति : २०७८ चैत्र २५ गते शुक्रवार