असाेज १८ भक्तपुर – जिल्लामा एक १६ वर्षिय किशोरीमाथि बसभित्रै सामूहिक बलात्कार भएकाे छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी केशवकुमार थेवेका अनुसार शुक्रबार बिहान काठमाडौं रत्नपार्कमा लठ्याउने औषधि खुवाई ती किशोरीलाई बस चढाएर भक्तपुर ल्याएको र शनिबारसम्म बसभित्र तिन जनाले पालैपालो सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । उनीहरुले सूर्यविनायक र चाँगुनारायण नगरपालिका–८ लिवालीस्थित तवियाखुशी खोलाको किनारमा बसभित्र किशोरीलाई करणी गरेको पाइएको छ।
बलात्कार आरोपित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बा ३ ख २६१२ नम्बरको बस चालक सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१० का २२ वर्षिय निरकुमार खड्का र सहचालक जुगल गाउँपालिका–४ पाङताङका वर्ष २१ का सूर्य श्रेष्ठ छन् भने एक जना फरार भएकाे र उनकाे खाेजिकार्य भइरहेको प्रहरीले बताएको छ।
पक्राउ परेका दुवै जनालाई आइतबार जिल्ला अदालत भक्तपुरमा पेस गरी जबरजस्ती करणीसम्बन्धी कसुरमा ७ दिन म्याद थप गरि अनुसन्धान भइरहेको डिएसपी थेवेले बताए।