चैत १५ काठमाडौ – त्रिभुवन विश्वविद्यालय सेवा आयाेग उत्तरपुस्तिका सम्परीक्षण गर्ने प्रा.डा. टेकनाथ ढकाल सहित ६ जना विरुद्ध अख्तियारले मुद्दा दायर गरेकाे छ।
त्यसैगरी उत्तरपुस्तिका रुजु गर्ने सेवा आयोगको कार्यालय त्रि.वि. का तत्कालीन प्रमुख परशुराम कोइराला, तत्कालिन मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, लेखा सहायक पदको प्रथम पत्र परीक्षण गर्ने सह-प्राध्यापक केशव घिमिरे, लेखा सहायक पदको दोस्रो पत्र परीक्षण गर्ने सह-प्राध्यापक राजेश्वर न्यौपाने र पुस्तकालय सहायक पदको दोस्रो पत्र परीक्षण गर्ने पुस्तकालय सह-प्रशासक इन्दिरा घिमिरे विरुद्ध मङगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयाेगले जनाएको छ।
उनिहरुले मिति २०७३।११।१८ मा प्रकाशित विज्ञापन नं. १८।०७३।०७४ सँग सम्बन्धित उपप्रशासक, पुस्तकालय अधिकृत, प्राविधिक अधिकृत (इन्जिनियर), प्राविधिक अधिकृत (कम्प्युटर), मुख्य प्राविधिक सहायक (कम्प्युटर), लेखा सहायक, पुस्तकालय सहायक र प्राविधिक सहायक (कम्प्युटर) पदको लिखित परीक्षामा व्यापक अनियमितता र आर्थिक चलखेल गरी सक्षम र उत्कृष्ट उम्मेदवारहरुलाई पाखा लगाई उत्तरपुस्तिका परीक्षण गर्ने क्रममा व्यापक अनियमितता भएको, प्राप्ताङ्क केरमेट गरेको, अङ्क थपघट गरी नतिजा फेरबदल गरेको, उत्तर नलेखेकोमा समेत अङ्क प्रदान गरी उत्तीर्ण गराएको आराेपका आधारमा अनुसन्धान गर्दा पुष्टि भएपछि मुद्दा दायर गरिएको आयाेगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए।
परीक्षा प्रतिस्पर्धामा याेग्य परीक्षार्थीलाई पाखा लगाई अयोग्यलाई गैरकानूनी लाभ पुर्याउने बदनियतले परीक्षाको परिणाममा फेरबदल गरेको पुष्टि भए अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिम भ्रष्टाचारको कसुर भएको ठहर गरि उनिहरु विरुद्ध तीन महिना देखि एक वर्षसम्म कैद र पाँच हजार रुपैयाँ देखि दश हजार रुपैयाँसम्म जरिवानाको मागदाबी सहित मुद्दा दायर गरिएको प्रवक्ता भण्डारीले बताए।