चैत १५, सल्यान – सल्यानको बागचौरमा सामाजिक विकास कार्यालय सल्यानको आयोजनामा दलित तथा सिमान्तकृत समुदायको मूलप्रवाहीकरण कार्यक्रम बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीद्वारा उद्घाटन भै सम्पन्न भएको छ ।
सामाजिक विकास कार्यालय सल्यानका कार्यालय प्रमुख कृष्णप्रसाद अधिकारीको सभाध्यक्षमा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि बागचौर नगरपालिका नगर प्रमुख लोकमान बुढाथोकी, अतिथिहरु जिल्ला सरकारी वकिल कार्यालय, सल्यानका जिल्ला न्यायाधिवक्ता जयप्रसाद धिताल, बागचौर शिक्षा, युवा तथा खेलकुद शाखाका कर्मचारी रविकिरण वली, विभिन्न विद्यालयका प्र.अ., शिक्षक, पत्रकार लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
यस्तै कार्यक्रममा सामाजिक विकास कार्यालय सल्यानका कार्यालय प्रमुखले उक्त कार्यक्रमको उद्देशको विषयमा जानकारी दिएका थिए ।
त्यस्तै प्रशिक्षक जिल्ला सरकारी वकिक कार्यालय, सल्यानका न्यायाधिवक्ता दिल प्रसाद धिताले दलित समुदायका लागि कानुनमा भएका आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक लगायतका क्षेत्रमा भएका सम्पुर्ण ऐन, नियमको बारेमा प्रष्ट पारेका थिए । उनले दलित समुदायको वर्गीकरण, दलित समुदायको मुलप्रवाहीकरण,दलित समुदायको मुलप्रवाहीकरणको लागि राज्यले संविधान तथा अन्य कानुनमा गरेका व्यवस्थाहरु, संचालित कार्यक्रमहरुको विषयमा प्रशिक्षण दिएका थिए ।
यस्तै अर्का प्रशिक्षक बागचौर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखामा कार्यरत कर्मचारी रविकिरण वलीले बागचौर नगरपालिकाले दलित तथा सिमान्तकृत समुदायको लागि गरेका काम तथा प्रयासहरुका बारेमा जानकारी दिएका थिए । उनले नगरपालिकाको परिचय, जनसंख्या, वडागत जनसंख्या विवरण, तहगत छात्र, छात्रा विवरण, शिक्षक विवरण, जनप्रतिनिधि विवरण, मूलप्रवाहीकरणका भएका प्रयासहरु, समस्याहरु र भावि योजनाहरुको बारेमा प्रष्ट पारेका थिए ।
सामाजिक विकास कार्यालय सल्यानका पाँचौ तहमा कार्यरत कर्मचारी हरिप्रसाद सापकोटाले सहजीकरण गरेको कार्यक्रममा विभिन्न विद्यालयका प्र.अ., शिक्षक, विभिन्न विद्यालयका दलित विद्यार्थी, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।