चैत ८, सल्यान – सल्यानको बागचौर नगरपालिका वडा नं. ४, लौराबाङ्गको बाँसखोलामा राज्यसत्ताद्वारा हत्ता गरिएका सहिद झलकमान पुन सहित उनको श्रीमती र छोरीको सम्झनामा बन्न लागेको प्रतिक्षालयको बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले शिलान्यास गरेका छन ।
राज्यपक्षद्वारा २०६१ असोज २५ मा घरबाट ल्याएर बाँसखोला नजिक सहिद खम्बे पुन (क.झलकमान), उनकी श्रीमती सहिद बिमला पुन (क.चेतना) र छोरी सहिद लक्ष्मी पुन (क.सदिक्षा) एकै घर तीन जनालाई गोली हानी हत्या गरिएको थियो ।
सहिदको सम्झनामा बन्न लागेको प्रतिक्षालय शिलान्यास गर्दै नगर प्रमुख बुढाथोकीले महान सहिदहरुप्रति श्रद्वासुमन व्यक्त गर्दै यो देख्दा सानो काम लागे पनि एक महत्त्वपूर्ण ऐतिहासिक काम भएको बताएका छन । उनले सहिद झलकमानको आमालाई सम्झाउँदै रगतको छोरा गुमाए पनि आफुहरुलाई नि आफ्नै छोरा सम्झिन अनुरोध गर्दै सहिदहरुका अधुरा सपना पूरा गर्न सदैव कटिबद्ध भएर लाग्ने बताएका छन ।

बुढाथोकीले भावुक हुँदै निर्वाचित भए यता आफुहरु कहाँ आएको सिमित बजेटले नै विभिन्न विकास योजनाका कामहरु भ्याउनु पर्ने भएकोले सहिद, घाईते, अपांग तथा बेपत्ता परिवारले सोचेजस्तो काम गर्न नसकेको बताए ।
सहिदको सम्झनामा स्मारक बनाउने काम अहिले सानो बजेटबाट सुरु गरिएको र यो क्रमागत योजना भएकाले यस ठाउँमा भोलिका दिनहरुमा पार्क निर्माण तथा खानेपानीको व्यवस्था गर्ने कुरामा जोड दिने समेत बताएका छन ।
उनले सहिद, घाईते, अपांग तथा बेपत्ता परिवारका लागि सोचेजति गर्न नसकिए पनि अन्याय चाहिँ नगरेको बताएका छन । निर्वाचन भैसकेपछि महान सहिदहरुकै सम्झनामा सहिद रिङरोड निर्माण, सहिद परिवारलाई सम्मान स्वरुप भ्रमण कार्यक्रम, स्मारक निर्माण गरिएको र सहिद परिवारलाई आयआर्जनतिर लगाउन उन्नत जातको बाख्रा वितरण कार्यक्रमका लागि बजेट पनि विनियोजन गरिएको बताएका छन ।
सहिद झलकमानकी ८३ वर्षीय आमा बटि पुनले छोराको सम्झनामा प्रतिक्षालय शिलान्यास गर्ने कार्यक्रममा भक्कानीएर रुदै भनिन;  “मेरा छोरा, बुहारी र नातीनीलाई मारेकै दिन त्यहि ठाउँमा आएर दुश्मनलाई तिमिहरुलाई पनि मेरा सन्तानलाई मारेको जस्तै गरेर मार्दिउन, माओवादीले र तिमीहरुका आमाहरुलाई पनि मै झै रुने दिन परुन भनेर फर्केर आएको दिनलाई सम्झे, जस्तो दिन परे पनि मन कठोर बनाएर बाँचेकै छु अहिले आएर त लाग्दैछ मेरो छ‍ोरा मरेको हैन दुनियाँ बदल्ने गरि गएको रहेछ, यसरी अरुहरुले हेरेका छैन तिमिहरु मेरा छोरा मरे पनि छोरा जस्तै हौ छोराको सम्झनामा यत्ति गर्दिऊ यसैमा म खुसी छु।”  छोरा, बुहारी र नातिनीको सम्झनामा प्रतिक्षालय निर्माण गराउन सहयोग गरेकोमा नगर सरकारलाई धन्यवाद समेत दिएकी छन ।
नगरपालिकाको आ.व. २०७७/०७८ को विनियोजित ५ लाख रकमबाट प्रतिक्षालय तथा सालिक निर्माण हुने भएको छ । भौगोलिक विकटताका कारण झलकमानको स-परिवारलाई हत्या गरिएकै ठाउँमा प्रतिक्षालय निर्माण गर्न नसकिएको र उक्त ठाउँ भन्दा करिब सय मिटर तल निर्माण हुँदै गरेको स्थानीयले बताएका छन ।
प्रतिक्षालय शिलान्यास कार्यक्रममा बागचौर नगरपालिका उप-प्रमुख कल्पना पुन, ४ नं. वडाध्यक्ष प्रेम ब. पुन, वडा सदस्यहरु, पत्रकार लगायत स्थानीय बासीहरुको उपस्थिति रहेको थियो ।
त्यस्तै नगर प्रमुख बुढाथोकीले आज नै जनता आधारभुत विद्यालय खोरबारे, लौराबाङ्गमा निर्माण हुँदै गरेको फिल्ड तथा विद्यालय र भगवती आधारभुत विद्यालय लौरबाङ्गको विद्यालयको अनुगमन समेत गरेका छन ।

प्रकाशित मिति : २०७८ चैत्र ८ गते मङ्गलवार