फागुन २७ रोल्पा – रोल्पा, रुकुमले जन्माएका एजेण्डा आज राष्ट्रिय राजनीतिमा स्थापित भएकाे भन्दै जनताहरुलाई भड्काउन भन्दा विकास र समृद्धिमा लगाउनु पर्ने अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बताएका छन।

शुक्रबार उद्योग वाणिज्य संघ रोल्पाको १८औं साधारण सभा, ८औं अधिवेशन उद्घाटन,स्मारिका विमोचन तथा पदभार ग्रहण कार्यक्रमलाई सम्बोधनका क्रममा अर्थमन्त्री शर्माले रोल्पाली जनताको बलिदान पूर्ण इतिहासलाई नविर्सन सुझाव समेत दिएका छन।

आजको उपलब्धीको सबैभन्दा ठूलो श्रेय रोल्पाली जनतालाई जाने भन्दै जनयुद्धको आधार क्षेत्रको रुपमा विकसित भएकाे रोल्पाली जनताकै शक्तिका आधारमा राजतन्त्र परास्त गर्न सफल भएको भन्दै अरु धेरै विकासका काम गर्न सक्ने विवेक र जाेस राेल्पासंग भएको बताएका छन।

अर्थमन्त्री शर्माले भने; “आफ्नो शक्तिको पहिचान गर्नुस जनताको शक्तीलाई बुझ्यौँ भने रोल्पाको विकास, समृद्धि, व्यवसाय, राजनीति सबै कुरामा रोल्पा सक्षम छ,‘रोल्पा, रुकुमले जन्माएका एजेण्डा आज राष्ट्रिय राजनीतिमा स्थापित भएका छन्, उपलब्धी हाँसिल भएका छन्, आजको दिनमा गरिबी न्यूनीकरण गरी समाजवादतर्फ जानका लागि जुन मार्ग बनेको छ, यसको आधारशिला रोल्पा, रुकुम नै हो।”

राेल्पाली जनताहरुले १० बर्षे जनयुद्धको समयमा ठुलो योगदान र बलिदान गरेको भन्दै जनताहरुलाई भड्काउने होइन विकास र समृद्धिमा लगाउनु पर्ने शर्माले बताएका हुन। राजतन्त्र बदल्न सक्ने रोल्पालीहरु अब गरिबी अन्त्यका लागि लाग्न आग्रह गर्दै रोल्पामा भएका प्राकृतिक स्रोतहरु कोइला,तामा,फलाम,सुन खानी,पर्यटकीय क्षेत्र,साँस्कृतिक परम्पराको प्रवर्द्धनका लागि राेल्पाली राजनीतिज्ञहरुले बहस गर्नुपर्ने बेला आएको र यसमा निजि क्षेत्रले लगानी गर्नुपर्ने बताएका छन।

राजनीतिक हिसाबले धेरै ठूलो परिवर्तन भइ सकेको जिकिर गर्दै अब सबै राजनीतिक दलहरू एकै ठाउँमा आएर ग्रामीण अर्थतन्त्रको विकासमा लाग्नु पर्ने बेला आएकाले यस क्षेत्रमा उत्पादन, संकलन, प्रशोधन र बजारीकरणका लागि पूर्वाधार निर्माण गर्नुपर्ने समय आएको बताउदै रोल्पालीले अब ग्रामीण अर्थतन्त्र विकासको नेतृत्व गर्नुपर्ने र त्यसको केन्द्र विन्दु रोल्पा बन्न सक्ने सम्भावना रहेको समेत दावि गरे ।

त्यसैगरी अर्थमन्त्री शर्माले “नेपालका विभिन्न जिल्लाहरु बाट धेरै मानिसहरू नेटवर्किङ बिजनेसमा लागेको र रोल्पा बाट पनि नेटवर्किङ बिजनेसको प्रलोभनमा परी करोडौं रकम बाहिरिएकाले त्यसमा कोही पनि संलग्नता नहुन आग्रह समेत गरेका छन। रोल्पा जिल्लाको समृद्धिका लागि उत्पादनमा विज्ञान र प्रविधिलाई जोडेर व्यवसायीक बन्नु पर्ने अहिलेको समय र मागको आवश्यकता रहेकाे बताएका छन।

प्रकाशित मिति : २०७८ फाल्गुन २७ गते शुक्रवार