फागुन २६ काठमाडौं – संगै काम गर्ने मजदुरकाे हत्या गरि फरार रहेका एक जना १६ वर्षपछि बहराइनबाट पक्राउ परेका छन।

कास्की लेखनाथमा मजदुरी काम गरी बस्ने सुनसरी धरान घर भएका २० वर्षीय रोजन राईको हत्या भएको घटनामा संलग्न कास्की लेखनाथ नगरपालिका -१३ सातमुहानेका ४६ वर्षीय अशोक गुरूङलाई बहराइनबाट पक्राउ गरेकाे महानगरीय अपराध महाशाखाले जनाएको छ।

२०६३ बैशाख २९ गते बेलुकी गुरुङकाे कुटपिटबाट सख्त घाइते भएका राईको उपचारको क्रममा २०६३ जेठ २ गते मृत्यु भएको थियो । घटनामा संलग्न गुरुङ घटनापश्चात वैदेशिक रोजगारीको सिलसिलामा बहराईन गएको र उनीविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउको लागि जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा २०७८ मंसिर २७ गते ईन्टरपोल महासचिवालयबाट ‘रेड नोटिस’ जारी गरिएकोमा उनीलाई बहराइ प्रहरीको सहकार्यमा पक्राउ परेका गरि नेपाल ल्याइएको महाशाखाले जनाएको छ।

उनलाई सम्बन्धित कसूरमा कारवाही गर्ने/गराउने प्रयोजनार्थ प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिएको प्रहरीले मंगलबार नेपाल ल्याएको र थप अनुसन्धान तथा आवश्यक कानुनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाएकाे समेत महाशाखाले जनाएको छ ।

उता जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार लेखनाथ नगरपालिका -१३ सातमुहाने स्थित खुदिन खाेलामा ग्याबिन तार भर्ने क्रममा कुटपिट गरि सुनसरी धरान घर काम गर्न आएका राईकाे हत्यामा संलग्न रहेकाे पाइएपछि पक्राउ गरिएकाे र अब थप अनुसन्धान अघि बढाइने बताएको छ।

प्रकाशित मिति : २०७८ फाल्गुन २६ गते बिहिवार