फागुन १६ काठमाडौ – पूर्वमन्त्री तथा नेपाल सरकारका पूर्व सचिव रामकुमार श्रेष्ठ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सरकारी सेवाको शिक्षक पदबाट मिति २०२६ चैत १८ गतेदेखि सेवामा प्रवेश गरी मिति २०३६ कार्तिक २६ गते शाखा अधिकृत पदमा नियुक्त भई बिभिन्न मितिमा पदोन्नति हुँदै सचिव पदमा बढुवा भै मिति २०६४ माघ ८ देखि अनिवार्य अवकाश पाएको र मिति २०६९ चैत ६ देखि मिति २०७० माघ २९ सम्म पर्यटन, शान्ति तथा खेलकुद मन्त्रालयको मन्त्री बनिसके सम्मकाे सार्वजनिक सेवा प्रवेश गरेको मिति २०२६ चैत १८ गते देखि मिति २०७२ पुस ०८ गते सम्मको अवधिलाई जाँच अवधि कायम गरी सो अवधिको आयव्ययको विश्लेषण गर्दा पूर्वमन्त्री तथा पूर्वसचिव श्रेष्ठले पदमा रहँदा श्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीमा आधारित रहेर अनुसन्धान गर्दा विभिन्न पदमा रहेर कुल ६ करोड ९० लाख १६ हजार ६२७ रुपैयाँ ४० पैसाको स्रोत खुलेको आयोगले जनाएको छ । उनले समीक्षा अवधिभित्र ११ करोड ३५ लाख ४४ हजार २९४ रुपैयाँ ३८ पैसा खर्च गरेको पाइएकाले आम्दानीको तुलनामा खर्चमा प्रयोग भएको बढी रकम ४ करोड ४५ लाख २७ हजार ६६६ रुपैयाँ ९८ पैसा बराबरको स्रोत खुल्न नसकेको आयोगले जनाएको छ ।

गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति तथा सो सम्पत्तिबाट बढे बढाएको अचल सम्पत्ति घर, जग्गा एवं बैंक मौज्दात गरी ६८ लाख ५० हजार ९५३ रुपैयाँ ९४ पैसा समेत रोक्का राखी अगुग बिगो ३ करोड ७६ लाख ७६ हजार ७१३ रुपैयाँ चार पैसा र सोको कानुन बमोजिम हुन आउने व्याजसमेत आरोपितको नाममा रहेको घर, जग्गाजमिन रोक्का राख्न समेत आयाेगले माग गरेकाे आयाेगका प्रवक्ता
श्याम प्रसाद भण्डारीले बताए।

श्रेष्ठकाे श्रीमती सरस्वती श्रेष्ठ र छोरा सरोज श्रेष्ठको नाममा राखेको स्रोत नखुलेको सम्पत्ति साबिक भ्रष्टाचार निवारण ऐन,२०१७ को दफा १६ ग, दफा २९ उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख. बमोजिम जफत गर्ने प्रयोजनार्थ तथा प्रतिवादी सरस्वतीकाे नाममा रहेको स्रोत खुलेको सम्पत्तिबाट नपुग बिगो भरिभराउ गर्ने प्रयोजनको लागि समेत सरस्वती र सरोज आमा छाेरालाई प्रतिवादी कायम गरी उनिहरुकाे नाममा रहेको घर, जग्गा तथा बैंक खाता समेत रोक्का राखी जफत गर्न मागदाबी लिई आइतबार बिशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको प्रवक्ता भण्डारीले बताए।

प्रकाशित मिति : २०७८ फाल्गुन १६ गते सोमवार