फागुन १५ काठमाडौ -जबर्जस्ती करणी अभियोग लागेका अभिनेता पल शाह(पुर्ण विक्रम शाह) माथि अनुसन्धान गर्न ७ दिनको म्याद थप भएको छ।

जिल्ला अदालत तनहुँबाट ७ दिनको म्याद थप भएको र हिरासतमा राखि अनुसन्धान थालिएकाे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रबाबू रेग्मीले बताए।

अभियुक्त प्रहरीको सम्पर्कमा आइसकेकाे र पिडित पक्षकालाई पनि अब बाेलाउने तयारी गरि अनुसन्धान अघि बढाइ शाहबाट बयान लिने काम भइरहेको र अनुसन्धानकाे आवश्यक परे छुट्टै छानवीन टाेली समेत तयार गर्न सकिने प्रहरी उपरीक्षक रेग्मीले बताए।

शाहलाई प्रहरीले फरार रहेकाे भन्दै खाेजि भइरहेकाे जनाएको थियाे। उनकाे खाेजि तथा साेधपुछकाे क्रममा शनिबार शाहले अभिनय गरेकाे चलचित्र ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर काठमाडौले साेधपुछपछि छाेडेकाे थियाे।

आजै बिहान विभिन्न व्यक्तिगत कारण देखाउदै प्रहरी समक्ष उपस्थित हुन ढिला गरेकाे भन्दै माफी माग्दै सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका थिए।

गत बुधबार नाबालिक एक चर्चित कलाकारले शाह विरुद्ध तनहुँ प्रहरीमा जबर्जस्ती करणी किटानी जाहेरी दिएकि थिइन।

शाह विरुद्ध अर्काे जबर्जस्ती करणी अभियाेग दर्ता

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को ईलाका प्रहरी कार्यालय गैँडाकोटमा पनि आज शाह विरुद्ध जबर्जस्ती करणी किटानी जाहेरी परेकाे छ।

गत साल २०७७ चैत ७ गते गैँडाकोट–५ स्थित गैँडाकोट रिसोर्टमा गीत सुटिङका क्रममा कलाकार शाहबाट बलात्कृत भएको भन्दै उनै १७ वर्षीया चर्चित गायिकाले उजुरी दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले जनाएको छ।

आइतबार दिउँसो उनै गायिका आफन्त सहित गएर ईलाका प्रहरी कार्यालयमा उपस्थित भई जाहेरी दिएकाे र प्रहरीले स्वास्थ्य परीक्षण गरेर दर्ता गर्ने वा नगर्ने भन्ने निर्णय लिने जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रमुख प्रहरी उपरीक्षक प्रज्वल महर्जनले बताए।

प्रकाशित मिति : २०७८ फाल्गुन १५ गते आइतवार