फागुन १४ दाङ – दुर्लभ वन्यजन्तु रेडपान्डाको छालासहित तिन जनालाई दाङ प्रहरीले पक्राउ गरेकाे छ।

पक्राउ पर्ने तीन जना नै रोल्पाका रहेका छन। सुनिलस्मृति गाउँपालिका -७ का ३२ वर्षिय राम बहादुर थापा, लुङग्री गाउँपालिका -३ का २० वर्षिय रुपक खडका र सुनछहरी गाउँपालिका -७ का १९ वर्षिय राम कुमार पुन मगर रहेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ।

रेडपाण्डाको छाला ठुलो मात्रामा हिमाली क्षेत्रबाट ल्याई बिक्री बितरणका लागि दाङ जिल्ला हुँदै काठमाण्डौं तिर लैजादै गरेको भन्ने विशेष सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय भालुवाङ दाङबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार बेलुकी करिब ७ बजेतिर राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ – प्यूठान सडक खण्डमा चेकजाँच गर्ने क्रममा रेडपाण्डाको पाँच थान छाला सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए।

ठुलाे मात्रामा रेडपाण्डाकाे छाला रहेकाले यसमा थप व्यक्तिहरु पनि संलग्न रहेकाे जस्तो बयानमा खुलाउने प्रयास गरेकाले उनिहरु भरियाकाे रुपमा प्रयाेग भएका हुन वा आफैले खरिद गरेका हुन भन्ने एकिन नभएको र अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक रिजालले बताए।

प्रकाशित मिति : २०७८ फाल्गुन १४ गते शनिवार